‘फ्रोजन-२’ को हिन्दी डब युट्युबमा
काठमाडौँ । ‘फ्रोजन–२’ अमेरिकी कम्प्युटर–एनिमेटेड म्युजिकल फेन्टासी चलचित्र हो । यस चलचित्रको हिन्दी डब युट्युबमा आइसकेको छ । ‘फ्रोजन–२’ को हिन्दी डबमा भारतीय नायिका प्रियंका चोपडा र उसकी बहिनी परिणिती चोपडाले आवाज दिएका हुन् ।
यस चलचित्रलाई वाल्ट डिज्नी एनिमेसन स्टुडियोले निर्माण गरेको हो । ‘फ्रोजन–२’ यस स्टुडियोद्वारा निर्मित ५८ औं एनिमेटेड चलचित्र हो । फ्रोजन २ सन् २०१३ को चलचित्र ‘फ्रोजन’ को सिक्वेल हो ।
फ्रोजन–२ मा फ्रोजन–१ को कथालाई नै निरन्तरता दिइएको छ । जसमा एल्सा, अन्ना, क्रिस्टोफ, ओलाफ र स्वेन पात्रलाई देख्न सकिन्छ । यस कथामा एउटा रहस्यमय आवाजले एल्सालाई बोलाउँछ । एल्साको जादुई शक्तिको कारण पत्ता लगाउन र आफ्नो राज्य बचाउनको लागि उनीहरू आफ्नो राज्य बाहिर यात्रामा निस्कन्छन् ।
‘फ्रोजन–२’ का निर्देशक क्रिस बक र जेनिफर ली हुन् भने निर्माता पिटर डेल भेको हुन् । गीतकार क्रिस्टन एन्डरसन–लोपेज र रोबर्ट लोपेज हुन् । साथै संगीतकार क्रिस्टोफ बेक रहेका छन् ।