अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै खालका विपद्बाट घर, क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिहरूका लागि र विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड, २०८१ सबै प्रक्रिया पूरा गरी मन्त्रीपरिषद्मा अन्तिम निर्णयका लागि पठाइएको जानकारी दिए ।
उनले सम्भवतः आज बस्ने मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने विश्वास व्यक्त गरे । उनले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएकोमध्ये बझाङ जिल्लाका १२ सय ५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ताबापत समेत प्राप्त गरेको बताए ।
उनले अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको बताए । अस्थायी आवास निर्माणका लागि करिब ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरूमा मौज्दात रहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिबाट २ अर्ब २५ करोड ५ लाख २५ हजार रुपैयाँ स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको र थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ता बापत १ अर्ब ९२ करोड, ५८ लाख २५ हजार रुपैयाँ लाभग्राहीको खातामा निकासा भइसकेको जानकारी दिए ।
उनले विपद् प्रभावित निजी आवास, पुनः निर्माण तथा पुनः स्थापना अनुदान कार्यविधि, २०८१ संशोधनका लागि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएकोमा सहमति प्राप्त भएको बताए ।