मन्दिर जस्तै देखिने बस बिसौनी (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँका प्रमुख ठाउँमा फल्चा शैलीमा बस बिसौनी निर्माण गर्न थालिएको छ ।
प्रमुख स्थानमा काठमाडौं महानगरले फल्चा शैलीमा बस बिसौनी निर्माण गर्न थालेको हो । जस अन्तर्गत, महानगरले काठमाडौंको बिजुली बजार क्षेत्रमा पनि फल्चा शैलीमा बस बिसौनी निर्माण गरेको छ । जो निकै आकर्षक र सुन्दर छ । यसमा निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ ।
यसमा बस्नका लागि काठकै मेच रहेको छ । रातिको लागि उज्यालो बनाउन बिसौनीभित्रै बत्ती जडान गरिएको छ । सुन्दर वातावरण देखिने बिजुली बजार क्षेत्रमा फल्चा बस बिसौनीले अझै आकर्षक थपेको छ ।
परम्परागत निर्माण सामग्री र शैलीको नमुनामा बनाइएको मन्दिर जस्तै देखिने बस बिसौनी काठले बनेको छ । यसमा सुन्दर कलात्मक बुट्टाहरू पनि देख्न सकिन्छ ।
बिजुली बजारमा मात्रै होइन, बानेश्वर, कोटेश्वर र बबरमहल सडक खण्डमा फल्चा शैलीमा बस बिसौनी बनेका छन् ।