गठ्ठाघर दुर्घटनाका मृतक शहीद परिवारका सदस्य, दुई छोरी विदेशमा

काठमाडौं । गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका ओखलढुंगाको चिशंखुगढी नगरपालिका-४ रातमाटे घर भएका उत्तम कोइरालाको परिवारले गाउँ छाडेर काठमाडौं बस्न थालेको १५-२० वर्ष भइसकेको थियो ।

उनका अधिकांश आफन्तहरू काठमाडौंमै छन् भने केही दाजुभाइ खलक गाउँमै बस्छन् । बेलुका काठमाडौंमा रहेका परिवारले दाजुभाइ तथा भतिजहरूलाई फोन गरेर ट्रकको ठक्करबाट उत्तमको मृत्यु भएको खबर दिए । बिहीबार कपनबाट भक्तपुरस्थित भतिजाको घर जान्छु भनेर स्कुटर लिएर हिँड्नुभएका उहाँलाई ट्रकले गठ्ठाघरमा ठक्कर दिँदै घिसारेर ज्यान लिएको थियो ।

उत्तम शहीद परिवारका सदस्य रहेको पनि खुलेको छ । उनका नातेदारसमेत रहेका वरिष्ठ पत्रकार हरिहर विरहीले उत्तम शहीद महेश कोइरालाका भाइ रहेको पुष्टि गरे । महेश २०३१ सालमा नेपाली कांग्रेसले पञ्चायती शासकविरुद्ध थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट ओखलढुंगामै मारिएका थिए । कांग्रेसले टिम्मुरबोटे काण्डका रूपमा सम्झिने उक्त घटनालाई नेपाली राजनीतिमा ओखलढुंगा काण्डका रूपमा चिनिन्छ । कोइरालासहित तत्कालीन आन्दोलित १९ जना मुक्ति सेनालाई गुफामा सुतेको अवस्थामा तत्कालीन शासकका सुरक्षाकर्मीले घेरा हालेर हत्या गरेका थिए ।

उत्तमको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । तर, उत्तमका आफन्तले दुर्घटनाको छानविनका लागि समिति नबनेसम्म शव नबुझ्ने बताएका छन् । उता, स्कुटरलाई ठक्कर दिएका ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ बस्ने ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर बानेश्वर वृत्तमा राखिएको छ ।

उत्तमका तीन छोरी रहेको खुलेको छ । जेठी छोरी अष्ट्रेलियामा छन् भने कान्छी छोरी काठमाडौंमै छन् । उत्तमले माहिली छोरी आस्थालाई पनि गत साउन २१ गते राति अमेरिकाका लागि बिदाइ गरेका थिए । उनी आफैँ त्रिभुवन विमानस्थल पुगेर माहिली छोरी आस्थालाई पढ्नका लागि बिदाइ गरेका थिए ।

माहिली छोरी एलएलएम अध्ययनका लागि अमेरिकाको क्यान्सस पठाएको १२ दिन नबित्दै उनले नेपालमा ज्यान गुमाएका छन् । छोरीहरू विदेशबाट नआएसम्म शव बुझेर दाहसंस्कार नगर्ने पक्षमा आफन्तहरू देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *