पशुपतीको कोटीहोममा शुक्रबार राति भएको घटना छानबिन गर्न समिति गठन
पशुपतिनाथमा विजय भण्डारीले सञ्चालन गरेको कोटीहोम स्थलमा शुक्रबार बेलुकी भएको घटनाको छानबिन हुने भएको छ। शनिबार दिउँसो भएको छलफलपछि ७ सदस्यीय समिति गठन गरिएको हो।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं र मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन्। समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाको सत्यतथ्य पत्ता लगाउन अध्ययन र छानबिन गर्न भनिएको छ।
घटनाको बारेमा अनुसन्धान प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि विजय भण्डारीले आफ्ना समर्थक र स्वयम्सेवकलाई प्रतिकार गर्न निर्देशन दिएका थिए।
प्रतिकार हुने डरले प्रहरी कार्यैक्रमस्थल बाहिरैबाट फर्किएको थियो।