परराष्ट्र सम्बन्धमा चुनौतीको पहाड भएपनि आरजुलाई राम्रो अवसर : पूर्वराजदुत उपाध्याय
काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकूल सरकार भएको टिप्पणी गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकूलको सरकार बनेको बताएका हुन् ।
पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमानदारिताका साथ प्रयास गर्नुभए सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए । नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको उनले बताए । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने उनको भनाई छ ।
उनले कूटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिएका छन् । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताए । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिए । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको उनको जिकिर छ ।