पहिरोका कारण कुनैपनि सडक दुई घण्टा बढी अवरुद्ध हुन दिदैनौँ : देवेन्द्र दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताएका हुन् ।
उनले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरू तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गएपनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए । उनले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए । नागढुंगा–मुग्लिङ सडक खण्ड एक घण्टा भन्दा बढी समय अवरुद्ध हुन नदिइएको उनको भनाई छ ।
उनले भने ‘नागढुंगा–मुग्लिन सडकको हकमा सधैँभरि समस्या आइरहने ठाउँ हो । यसको बारेमा हामी एकदमै अलर्ट छौँ र एकदमै ध्यान दिएका छौँ । त्यहाँ पहिरो जाँदा हामीले एक घण्टा भन्दा बढी त्यहाँ रोक्न दिएका छौँ । अहिले हामीले देशभरिका लागि दुई घण्टा भन्दा बढी रोकिनु नपरोस् भनेर हामीले उपकरणहरू स्ट्याण्डबाइ राखेका छौँ । नागढुंगा–मुग्लिङ सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ । यसलाई हामीले पहिलो प्राथमिकतामा राखेको अवस्था छ ।’
मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताए । उनले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाई गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताए । चालकले अनुमतिपत्र नपाउञ्जेलसम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरीय बनाउने पनि उनले जानकारी दिए ।
उनले भने – ‘हाम्रो यातायात हेर्ने मन्त्रीहरूको विषयगत समिति हुन्छ । त्यो समितिको बैठक बसेर हामीले निर्णय गरेर अब जुन रसिद हो त्यो ठूलो छ । त्यसलाई हामीले आइडी कार्डजस्तै बनाएर चेक गर्दाखेरि वास्तविक हो भन्ने कुरो पत्ता लाग्नेगरी फोटो राख्ने र क्युआर राख्ने । ट्राफिक प्रहरीसँग पनि कुरा गरिसकेका छौँ । बाक्लो कागजमा छापेर दिने वास्तविक लाइसेन्स नआउन्जेलसम्म यो व्यवस्था गर्ने । लाइसेन्स सेन्ट्रल डाटाबेसमा सबै डाटाहरू रहनेगरी अब प्रदेशले पनि छाप्नेगरी उहाँहरुले प्रतिबद्धता जनाउनुभएको छ । प्रदेशले आ–आफ्नो प्रदेशमा छपाएर दिने । उहाँहरूलाई आवश्यक सहजीकरण सङ्घबाट अथवा मन्त्रालयबाट गर्ने र उहाँहरुले लाइसेन्स छाप्ने । त्यसो हुँदा अहिले क्युमा बसेको लाइसेन्स दिन्छौँ । त्यसपछाडी तलबाटै लाइसेन्स दिने अवस्था बनेपछि यो समस्या नआउँला भन्ने लाग्छ ।’
उनले नारायणघाट–बुटवल सडकखण्ड निर्माणको विषय सरकारको टाउको दुखाइको विषय बनिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रयास भइरहेको बताए ।