युद्धका कारण सुडानको स्वास्थ्य क्षेत्रमा गम्भीर असर
एजेन्सी । सुडानका अधिकारीहरू र विज्ञहरूका अनुसार सुडानमा लामो समयदेखि जारी द्वन्द्वका कारण देशको स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको छ । वार्षिक भारी वर्षा र बाढीका कारण सुडानमा हैजा र अन्य सङ्क्रामक रोगहरू तीव्र गतिमा फैलिरहेका छन् ।
आइतबार सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले देशमा हैजाका घटनाहरूको संख्या ३५४ पुगेको बताए । जसमा २२ जनाको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हैजाको प्रकोप मुख्यतया युद्धका कारण बिग्रिएको वातावरणीय अवस्था र धेरै क्षेत्रमा असुरक्षित पानीको प्रयोगका कारण भएको हो ।
यसैबीच मन्त्रालयले गत मंगलवार देशको महामारीको अवस्थाको बारेमा आफ्नो पछिल्लो प्रतिवेदनमा गुलाबी आँखा रोग भनेर चिनिने (नेत्रश्लेष्म) रोगका बिरामीको संख्या नौ राज्यमा २ हजार ६८९ पुगेको बताएको छ । सुडानको गृह मन्त्रालयका अनुसार भारी वर्षा र बाढीका कारण सुडानका विभिन्न भागमा जुन महिनादेखि अहिलेसम्म ६८ जनाको मृत्यु भएको छ ।