देउवाको प्रतिबद्धता– संविधान संशोधन गर्दा सबै दललाई साथमा लिन्छौँ

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

लोकतन्त्रप्रति प्रतिबद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो ।

मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताए ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको बताए । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताए ।

उनले भने, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यही सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरु सबै पार्टीहरूलाई समेट्दै लैजाने हो । र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढ्न खोजिराखेका छौं । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाइहरूले आशंका गरिरहनुपर्ने आवश्यकता छैन । ओलीजी पनि प्रजातन्त्रको मुलभुत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली काँग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बीचमा सहमती भएको छ । त्यो सोची विचारकन भएको सहमती हो । दुई वटा पार्टी मिले भईहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलब अरु कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरूलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरूलाई साथसाथै लिएर जाने हो ।’

सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *