साफ च्यापियनसिप फुटबलमा भुटानले माल्दिभ्सलाई हरायो
काठमाडौं । काठमाडौंमा जारी २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानले माल्दिभ्सलाई हराएको छ ।
बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले हराएको हो ।
यो जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीनरतीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एकरएक गोल गरे । माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो ।
खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए ।
प्रतियोगिताअन्तर्गत बिहीबार नेपाल र बङ्गलादेशबीच दिउँसो ३ बजेदेखि खेल हुनेछ ।