अर्थमन्त्रीको दाबी– नयाँ सरकार बनेको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धि भयो
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक संकेतहरु देखापरेको दाबी गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे ।
बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताए । उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरु देखिएको उल्लेख गरे ।
उनले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताए । उनले भुक्तानी सन्तुलनमा अनकुल अवस्थामा रहेको बताए ।
उनले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताए । उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राखे । उनले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताए ।
अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हासियार हुन आवश्यक देखिएको उल्लेख गरे । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाई छ ।
उनले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताए ।
उनले सरकारले निर्माण व्यवसायीहरुको क्रमश भुक्तानी गर्दै आएको भन्दै जुनसुकै रुपमा भएपनि भुक्तानी नरोक्ने पुनःप्रतिवद्धता जनाए । सरकारले बनाउने कानूनहरु व्यवसायीहरु माथि लाद्ने दृष्टिकोण नभएको उल्लेख गरे ।
उनले कानूनहरुलाई व्यवसायीहरुका मागलाई सुन्ने र व्यवसायीमैत्री बनाउने योजनामा रहेको भन्दै निजी क्षेत्रको लगानी संकुचन हुनेगरी कानून नबनाउने बताए ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताए । अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताए ।