माया जालमा पारेर बेचबिखन, वार्षिक ७ हजार किशोरीहरू यौन शोषणमा

विराटनगर । कोशी प्रदेशबाट हुने मानव बेचबिखन तथा ओसारपसार प्रविधिको प्रयोगसँगै फेरिएको विभिन्न क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विषयमा माइती नेपालले आयोजना गरेको सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीले मानव बेचबिखनको समस्या समाधानमा सबै लाग्नु पर्ने बताए ।

माइती नेपालले सीमा लक्षित कार्यक्रम गर्दै आएको जानकारी गराइएको थियो । नेपालसँगै भारतमा पनि माइती इन्डिया रहेकाले नेपाल भारत संयुक्त साझेदारीमा मानव बेच बेचबिखन विरुद्धको अभियान चलाउँदै आएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।

माइती नेपालको पहलमा जहदा गाउँपालिका र ग्रामथान गाउँपालिकामा मानव बेचबिखन विरुद्धको पालिका स्तरीय समिति बनेर काम सुरु भएको बताए । कोशी प्रदेशको पाँच स्थानबाट माइती नेपालले सीमा क्षेत्रमा काम गर्दै आएको बताए ।

माइती नेपालका अनुसार वार्षिक ७ हजार किशोरीहरू कोठीसम्म पुगेर यौन शोषणमा पर्ने गरेका छन् । यसरी हुने बेचबिखनमा महिला बालबालिकाहरू ७ देखि १४ वर्ष उमेर समूहका, औसत १६ वर्षको हुने र बेचबिखनमा परेकाहरू यौन शोषणमा पर्ने गरेको माइती नेपालको तथ्याङ्कमा देखिन्छ ।

यसरी हुने मानव बेचबिखन तथा ओसारपसार आन्तरिक, सीमा पार र समुन्द्र पार हुने गरेको पाइएको माइती नेपालकी गीताञ्जली शर्माले बताइन् । पछिल्लो समय माया प्रेमको नाममा बेचबिखन पर्ने दर बढ्दै गएको उनको भनाइ छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै माया प्रेमको नाममा किशोरीहरू बेचबिखनको जोखिममा परेको उनले जानकारी दिइन् । कार्यक्रममा बोल्दै सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले हराएको धेरै भए पनि भेट्टाएकाहरूको विवरण कसरी व्यवस्थित गर्ने भन्ने चुनौती भएको बताए ।

गैसस महासङ्घ मोरङकी अध्यक्ष विष्णु शर्माले सार्वजनिक गरिने तथ्याङ्क अपडेट गरेर जान सुझाव दिइन् । उनले वर्षौँदेखि एउटै तथ्याङ्क आउँदा त्यसको विश्वसनीयता माथि नै प्रश्न उठ्नेमा जोड दिइन् ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मानव बेचबिखन तथा ओसारपसारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव अधिकार आयोग, वकिल तथा पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *