सतीदेवी : वंश धान्न छोरा नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न ?
काठमाडौं । चलचित्र ‘सतीदेवी’ शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । यस फिल्मले प्रदर्शन अगावै गत वर्ष सौराहामा सम्पन्न दक्षिण एसियाली चलचित्र महोत्सव २०८० मा सर्वोकृष्ट चलचित्रको अवार्ड पाएको थियो । प्रदर्शन अगावै चर्चा कमाएको यस फिल्मलाई लिएर महिला अधिकारकर्मीहरूको पनि चासो देखिन्छ ।
लक्ष्मण सुवेदीद्वारा निर्देशित फिल्म ‘सतीदेवी’भगवान् शिवजीको पहिलो पत्नी वा कुनै पौराणिक पात्रमा आधारित चलचित्र होइन । यो फिल्म सतीदेवी नामक लमजुङका एक परिवारको कथा हो । जसका माध्यमबाट सुवेदीले ‘छोरा नै चाहिन्छ’ भन्ने हाम्रो समाजको पितृसत्तात्मक सोचलाई प्रस्तुत गर्दै त्यसबीच अवसर र अभावमा पिल्सिएका महिलाहरूको पीडालाई प्रस्तुत गरेका छन् ।
यस चलचित्रमा अभिनेत्री मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू र मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्ममा मलिका सोझी गाउँले केटी ‘सतीदेवी’ को भूमिकामा देखिएकी छन् । यो पुरै फिल्म सतीदेवी र उनको परिवारमा आधारित छ । आउनुस्, कुरागरौँ भरखरै प्रदर्शनमा आएको फिल्म ‘सतीदेवी’ बारे ।
कथानक
चलचित्रको सुरुमा ४ वटा छोरीको बाबजुद पनि सतीदेवीकी आमा अझै गर्भवती अवस्थामा देखिएकी छन् । उनका श्रीमान् यसपटक छोरा जन्मने कुरामा पूर्ण विश्वस्त छन् । उक्त परिवारमा छोरो नभएकै कारण अशान्ति मच्चिएको छ । एउटी महिलाले छोरा जन्माउन नसक्दा उनको पुरै जिन्दगी नरकीय अवस्थामा परिणत भएको कुरा फिल्ममा मुख्य कथानकको रुपमा आएको छ भने बुबाले आफ्नो दायित्व बिर्सँदा उक्त परिवारले समाजमा कतिसम्म अपमानित हुनुपर्छ भन्नेकुरा फिल्म ‘सतीदेवी’ मा स-विस्तारका प्रस्तुत गरिएको छ । सतीदेवी सरल कथानक भएको फिल्म हो । यस फिल्ममा आरम्भ, विकास र अन्त्यको शृङ्खला मिलेको छ ।
पात्र वा चरित्रचित्रण
यस फिल्ममा सतीदेवी, उनकी आमा, उनका बुबा ‘माइला बा’र ४ बहिनीहरू, साथी गंगा र प्रेमी भुवन बाहेक श्यामहरि काका लगायतका विविध पात्रको उपस्थापन गराइएको छ । यीमध्ये प्रमुख पात्रहरूको चित्राङ्कन गरिन्छ :-
सतीदेवी
सतीदेवी यस फिल्मको प्रमुख पात्र वा नायिका हुन् । उनी लमजुङका ‘कुले’ अर्थात् ‘माइला बा’ का जेठी सन्तान । उनी पछिका ३ बहिनीहरू छन् । फिल्ममा उनको पढाई राम्रो भएको बताइएको छ । सतीदेवीका ‘बा’ अझै छोरा जन्मने आसमा छन् । उनी सधैँ जुवातास खेल्छन् र रक्सी पिउँछन् । अनि बेलुकी घरमा आएर यसपालि जसरी पनि छोरो जन्माउन भनेर धम्की दिन्छन् । उनी आफ्नो पुस्ता धान्ने छोरो नजन्मिएकोमा लत्ता छाडेका देखिन्छन् । उनकै कारणले सतीदेवीले कक्षा ९ मा पढ्दा पढ्दै विद्यालय जान छाड्छिन् । त्यसपछि भने सतीदेवी घाँस, दाउरा र गाई वस्तुको गोठालो गर्नमा व्यस्त हुन्छिन् ।
सतीदेवी एक सुन्दर र सोझी गाउँले केटी हो । फिल्ममा उनले कुनै अन्याय र अत्याचारबारे आवाज उठाएको देखिँदैन । बरु उनी चुपचाप सहिदिन्छिन् । उनी आमाले छोरो जन्माएर घरमा शान्ति फर्कने प्रतीक्षामा छिन् । उनको पारिवारिक स्थितिले गर्दा पनि उनको माया–प्रेम प्रति खासै चासो हुँदैन । उनलाई बोको बेचेर साथी गंगाले झैँ फेसबुक चल्ने मोबाइल किन्ने मन हुन्छ । तर बाबुले थाहै नदिई सबै बाख्रा बेचिदिन्छन् । फिल्ममा सतीले चाहेजस्तो केही भएको छैन । उनकी आमाले पुनः छोरीलाई नै जन्म दिएकी छन् । बुबाको डरले भरखरै जन्मिएकी बहिनी लगेर सतीले अर्कैसँग साट्छिन्, त्यसपछि उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँ निकाला गरिन्छ । फिल्ममा सतीलाई एक दयनीय र निरीह पात्रको रुपमा चित्रण गरिएको छ । उनलाई केबल घटनाको वेगमा बग्दै गएकी पाउन सकिन्छ ।
माइला बा
‘माइला बा’ सतीका बुबा हुन् । उनी अझै छोरा जन्माउने आसमा छन् । उनी ७ महिनाको छोरो बितेपछि बिरक्तिएका हुन् । छोरा जन्माउने आसमा उनका ४ वटा छोरी भइसकेका छन् । उनकी श्रीमती अझै गर्भवती छिन् । माइला बा लाई यसपछि चैँ पक्कै पनि छोरो पाउँछु भन्ने आस हुन्छ । उनी दिनभरि जुवातास र जाडरक्सीले लागेर बेलुकी घर पुग्छन् र झगडा गरेर स्वास्नीलाई कुट्छन् । छोरीहरूलाई धम्क्याउँछन् । फिल्ममा उनले जुवा खेल्नकै लागि ‘कौडे काजी’सँग ऋण लिएको, घरजग्गा बन्धकी राखिएको र श्रीमतीको गहना खोसेर लगेको देख्न सकिन्छ ।
मुलभाव
‘सतीदेवी’ छोराको अभावमा जन्मिएको फिल्म हो । यस फिल्ममा सतीदेवीकी आमाले ४ वटा छोरी जन्माइसकेपछि पनि लोग्नेको करकापमा अर्का सन्तान जन्माउन तयार भएकी छन् । सन्तान जन्माउने वा नजन्माउने यो पूर्णतः आमाको अधिकार हो तर पुरुष प्रधान हाम्रो समाजमा महिलाहरूलाई यस कुराको छुट दिइएको छैन । फिल्मले महिलाहरू परनिर्भरता बन्दा निम्तिने विभिन्न समस्याहरूलाई देखाए सँगै विशेषतः महिला वर्गलाई अप्रत्यक्ष रुपमा परनिर्भरता नबन्न भनेको छ ।
फिल्ममा सतीदेवीको परिवारले जडिया बुबाका कारण चरम आर्थिक समस्या र अपमान सहनु परेको छ । परिणाम स्वरूप सतीदेवी विभिन्न मानिसहरूबाट यौन दुर्व्यवहारको सिकार हुनु पुगेकी छन् । उनी अशिक्षित भएकै कारण सहरमा भाँडा माझेर कमाएको पैसा पनि बैंक खाता नभएको कारण ‘दिदी’ नामकी पात्रलाई राख्न दिएकी छन् । जसकारण उनलाई आवश्यक पर्दा आफ्नै पैसा लिन पनि उनलाई बढो मुस्किल पर्दछ । यस घटनाद्वारा फिल्मले महिलाहरू शिक्षित हुन कति आवश्यक छ भन्ने सन्देश दिएको छ । फिल्मले सधैँ कौडा-जुवा खेली रक्सी जाँडमा डुब्ने ‘माइला बा’ द्वारा मद्यपान र जुवातासले धन सम्पत्ति मात्र नभई परिवारको खुसी र आफ्नो स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने देखाएको छ ।
परिवेश
यस फिल्मले लमजुङको ग्रामीण भेगलाई आफ्नो परिवेश बनाएको छ । फिल्ममा एउटी महिलाले छोरो नजन्माउँदा कतिसम्म सास्ती भोग्नु पर्छ र परिवारमा बुबाले आफ्नो दायित्व बिर्सँदा छोरीहरू समाजमा कतिसम्म अपमानित हुनुपर्छ भन्ने कुरालाई मूल विषय बनाएर निर्देशन सुवेदीले धनी र गरिबको विभेदपूर्ण घटनालाई परिवेश बनाएका देखिन्छ । चलचित्रले अंश र वंश धान्न छोरी नै चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ ।
भाषाशैली
सतीदेवीमा पात्रको स्तरअनुसार सरल बोलचालमा प्रयुक्त भाषाको प्रयोग गरिएको छ । पात्रका संवाद क्रममा प्रयुक्त भाषामा सरल वाक्यगठन भएकाले समग्रमा भाषा मिठासपूर्ण र सरल बन्न गएको छ । तर यस्तो बलियो कथावस्तुलाई अंगालेको फिल्म ‘सतीदेवी’ मा लेखन तथा प्रस्तुतीकरणमा भने कमजोर बेनेको छ । लेखकले फिल्मको सुरु, मध्य र अन्यसम्मै करुण रसको प्रयोग गरेका छन् । जसका लागि पात्रहरू सुरुको भाग देखि अन्त्यसम्मै रुन्छन् । जुनकुरा फिल्मको कमजोर पक्ष हो ।
फिल्ममा थोरै मात्रामा श्रृङ्गार रसको पनि प्रयोग गरिएको छ । तर अघि भने जस्तै अत्यधिक करुण रसको प्रयोगले फिल्म हेरिसकेपछि फिल्ममा श्रृङ्गार रस छ भन्ने पनि बिर्सिन्छ । जुन रस फिल्मका लागि अपुग भएको आभास हुन्छ । फिल्मले महिला पात्रहरूलाई निरीह, परनिर्भर र कमजोर पात्रको रुपमा उभ्याएको छ । जसले गर्दा दर्शकहरू आफूलाई ‘सतीदेवी’ पात्रसँग आफूलाई ‘रिलेट’ गर्न तयार भएका छैनन् । यो फिल्मको दोस्रो कमजोरी हो ।
यद्यपि पुष्पा, केजीएफ जस्ता साउथ इन्डियन फिल्महरूले भने समाजमा भिलेन भनेर चिनिँदै आएका व्यक्तित्वहरूमा समेत ‘हिरो’ स्थापित गर्न सफल भएका छन् । तर सतीदेवीमा हामीले हेर्दै आएको हिरो भन्ने चरित्र कतै देखापरेको छैन । फिल्ममा सतीदेवीकी प्रेमी ‘भुवन’, जसले सतीको जीवनमा हुनु र नहुनुले कुनै फरक पारेको छैन । त्यसैले दर्शकहरू फिल्मको अन्त्यसम्म नै एक हिरोको पर्खाइमा हुन्छन् । त्यसले गर्दा पनि दर्शकहरू निराश बन्न पुगेका छन् ।
यसबाहेक सतीदेवी फिल्म परम्परागत शैलीको नेपाली फिल्म जस्तो बनेको छ । जसमा दयनीय आवाजका साथ दृश्यलाई लम्ब्याउने काम गरिएको छ । त्यसकारण सम्बन्धित पक्षका व्यक्तिहरूलाई फिल्म मन परेपनि अहिलेका युवा पुस्तालाई मन नपर्न सक्छ ।
फिल्म २ घण्टा १५ मिनेटको बनेको छ । तर फिल्ममा त्यस्तो कुनै मोड छैन जहाँ दर्शकले सजिलै अनुमान लगाउन नसकोस् । त्यसैले बौद्धिक हिसाबले फिल्म कमजोर बनेकै हो । जसकारणले दर्शकहरूलाई फिल्म हेर्न मज्जा आउँदैन । फिल्म हेर्दा यस्तो लाग्छ कि फिल्म जहाँबाट सुरु भयो त्यही अड्किएको छ । किनकि फिल्ममा समस्याहरू मात्र देखाइएको छ । र उक्त समस्याहरूको समाधानका लागि पर्दामा ‘टु बि कन्टिनिउ’ लेखिएको छ ।
वर्तमान समयमा डिप्रेसन र एन्जाइटिका पीडित दर्शकहरू भने यो फिल्म हेरेपछि झनै दुखी बन्ने देखिन्छ । यसबाहेक फिल्ममा कलाकारहरूको अभिनय, ड्रेसअप, मेकअप र क्यामेराको काम राम्रो नै रहेको छ ।