इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स तेस्रो अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ २१ गते देखि

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनी भदौ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको हो ।

मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराइले तेस्रो पटक आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने बताए ।

उनले प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीहरूको स्टल रहने बताए ।

उनले प्रदर्शनीमा वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चार्जिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहने बताए ।

उनले आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्य प्रदर्शनीको छ ।

उनले विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गर्न लागेको बताए ।

उनले प्रदर्शनी दशैँको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनिका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने व्यवस्था गर्ने भएको छ । नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विद्युतीय सामानहरू खरिद गर्ने चलन रहेको तथा नेपालीहरूको महान पर्व दशैँको केही हप्ता अगाडी आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरूलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धिहरूबारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *