देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।