नेताहरूमाथि युवाको आक्रोश किन ?

मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ । तर त्यो अनुभूति आमनागरिक र देशको भविष्य मानिएका युवाहरूले गर्न पाएका छैनन् । फलस्वरूप राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा चरम वितृष्णा बढ्दो छ ।

यसलाई बल पुर्‍यायो काठमाडौंको टुँडिखेलमा आयोजित ‘गौरा पर्व’ विशेष कार्यक्रममा भएको नाराबाजीले । सोमबार सुदूरपश्चिमेलीहरूको मौलिक एवं सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, नेकपा एमालेका नेता भीम रावल लगायत सहभागी थिए ।

सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बोल्दाबोल्दै युवाहरूले नाराबाजी र होहल्ला गरे । समय अभाव भन्दै प्रधानमन्त्री ओली बोल्दै गर्दा युवाहरूले नाराबाजी र होहल्ला गरेका हुन् ।

ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई  बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए । आफू विरुद्ध नाराबाजी भएपछि ओलीले नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नहुँदा दुःख लागेको बताए ।

यस्तै कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा बोल्ने समयमा पनि युवाहरूको नाराबाजी गरे । सभापति देउवा बोल्दै गर्दा होहल्ला र नाराबाजी भएपछि उनी आक्रोशित भएका थिए । नाराबाजी नरोकिएपछि देउवाले भने, ‘लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कार्यक्रममा गौरा पर्व सुदूरपश्चिम र कर्णालीको संस्कृति भएको तर्क गरे ।

तीन युवक प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले मंगलबार अछामका राम बहादुर बुढा र सुर्खेतका गोपीराम जैसी तथा बुधवार कञ्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरेको हो । संस्कृति तथा सार्वजनिक शान्ति बिथोल्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

रास्वपा प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टीले टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा विरोध भाषण गरेकै भरमा युवाहरूलाई नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाएको छ । युवाहरूले गरेको विरोध भाषणलाई अराजकता शैली जस्ता अनेक बाहाना लगाएर युवाहरूलाई हिरासतमा राखिनु गलत भएको सांसद हरि ढकालको भनाई छ ।

युवाहरूले गरेको विरोध भाषण राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्ने उनले बताए । ‘सरकाले भिडिओ फुटेजहरू स्क्रिनिङ गरी गरी युवाहरूलाई हिरासतमा राखेको छ, यो बिलकुल गलत भएको छ,’ उनले भने, ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेको, राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ ।’

उनले स्वदेशमा अवसर, रोजगारीबाट वञ्चित बनाइएका युवाहरूले सिंहदरबारभित्रका बेमानहरूलाई खबरदारी गर्दै गर्दा समात्न नपाउने भन्दै तत्काल रिहाइको माग गरे । विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा युवाहरूलाई समातेको समाचार आइरहेको बताउँदै सांसद ढकालले भने, ‘कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । यो कमिलाको उड्ने बेलामा प्वाँख पलाको जस्तो नहोस्,हामी पनि यस विषयमा संवेदनशील छौँ,तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाए जस्तै हुन्छ ।’ उनले युवाहरूलाई त्रसित नबनाउन आग्रह गरे ।

के भन्छन् राजनीतिक विश्लेषक ?

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँले नीति भन्दा नेता प्रधान हुँदा देशमा अराजक गतिविधि बढिरहेको बताएका छन् । नीति भन्दा नेता प्रधान हुँदा हरेक क्षेत्रमा अराजकता निम्तिएको उनी बताउँछन् ।

राज्यले आफ्नो नियन्त्रण गुमाउँदै गएको उनले बताए । पात्र र प्रवृत्ति नफेरिँदा नेताहरूमाथि युवाले आक्रोश पोखिरहेको उनले बताए  । ‘नेतृत्वले राम्रो काम गर्न नसक्दा युवाहरूमा असन्तुष्टि बढेको हो,’ मकालुखबरसँग उनले भने, ‘पछिल्लो समय दक्षिण एसियामा भएका राजनीतिक उथलपुथलको बाछिटा पनि नेपालमा परेको जस्तो मलाई लाग्छ ।’

देश सिस्टममा नचलेका कारण अराजक किसिमका घटनाहरू भइरहेका उनले बताए । राज्यसत्ता सिस्टममा गए अराजक गतिविधिहरू कम हुँदै जाने पनि उनले बताए ।

युवाहरूमा इतिहासको भोगाई नभएको बताउँदै युवाहरूले पनि इतिहासलाई अवमूल्यन गर्न नहुनेमा उनले जोड दिए । उनले राज्यका नियामक निकाय कमजोर बन्दा समस्या निम्तिरहेकोतर्फ संकेत गरे । यही अवस्था रहे थप अराजकता बढ्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *