मन भित्रको राक्षसहरूसँग लड्न सिकाउने नाटक ‘नुग्ःद्य’ (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘नुग्ःद्य’ मञ्चन भइरहेको छ । भाद्र ७ गतेदेखि सुरु भएको नाटक ‘नुग्ःद्य’ भाद्र १८ गतेसम्म मञ्चन हुनेछ ।यस नाटकलाई प्रवीण तामाङले लेखेका हुन् भने विजय तामाङ ब्लोनले निर्देशन गरेका हुन् ।

नाटकमा विश्व नृत्य च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने सपना देख्ने साधारण युवाका परिवारको कथा देख्न सकिन्छ । नाटकका मुख्य पात्र ‘लोप्साङ’ आफ्नो बुबाको अस्वीकृतिको बाबजुद पनि प्रतियोगितामा समावेश हुने सपना देख्दछ । उसले विश्व नृत्य च्याम्पियनसिपमा भाग लिनकै लागि साथीहरूसँग मार्बल बोक्ने काम गर्दछ । उसले बेलुकी घर ढिला आएको र खराब साथीहरूसँग सङ्गत गरेको भन्दै बुबाको मुखबाट बारम्बार गाली खानुपरेको छ ।

लेखक तामाङले नाटक ‘नुग्ःद्य’ द्वारा नृत्य कलालाई आफ्नो पेसा बनाउन चाहने युवाहरूले हाम्रो समाजमा कस्तो कस्तो समस्याहरूको सामना गर्नुपर्दछ भनेर देखाएका छन् ।

विश्व नृत्य च्याम्पियनसिपमा सहभागी हुन लोप्साङले सामाजिक, आर्थिक, परिवार थुप्रै बाधाहरूको सामना गर्नुपरेको छ । त्यसबेला उसकी आमाले मात्र उनको सपनालाई साथ दिएकी छन् । तर लोप्साङ विश्व नृत्य च्याम्पियनसिपमा सहभागी हुन अगावै उनको आमालाई थर्ड स्टेजको टिभी हुन्छ ।

लोप्साङले विश्व नृत्य च्याम्पियनसिप जितेर आमाको उपचार गर्ने योजना बनाउँछ । तर अन्तिम प्रदर्शनको क्रममा उनको ढाडमा गम्भीर चोट लागेका कारण उ लामो समयसम्म बोल्न र हिँडडुल गर्न सक्दैन । उता आमाको पनि मृत्यु हुन्छ ।

नाटकले ‘लोप्साङ’ को भावनात्मक र मनोवैज्ञानिक यात्राको अन्वेषण गरेको छ । ठूलो ठाउँमा पुग्नका लागि ठूलो सामना देख्नुपर्छ भन्ने सन्देश दिँदै नाटकले हरेक मानिसलाई आफ्नो मन भित्रको राक्षसहरूसँग लड्न सिकाएको छ । यो आत्म–स्वीकृतिको कथा हो । यस नाटकले आफ्नो परिस्थितिको बाबजुद फेरि खुसी हुने बाटो फेला पार्न सिकाएको छ ।

‘नुग्ःद्य’ हास्य रस र करुण रसको मिश्रण भएको एक सुन्दर नाटक हो । यस नाटकमा प्रवीण तामाङ, युवाहाङ राई, रञ्जिता लिम्बु, चेनी राई, रोहित शाह लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस् थप तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *