दिनहुँको दुर्घटनाले डराएका चलाकहरू !

काठमाडौँ । असार २८ गते चितवनको सिमलतालमा भयानक दुर्घटना भयो । काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका बस त्रिशूली नदीमा खसेर बेपत्ता भए । बससँगै बसमा सवार ६२ जना यात्रुहरू थिए भने त्यस मध्य ३ जना बाँच्न सफल भएका थिए ।

हालसम्म २४ जनाको सब भेटिए पनि ११ जना अझै बेपत्ता छन् । दुर्घटनामा परेका १९ जनाको सब सनाखत भएको छ भने ५ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रशासन कायालयकी सूचना अधिकारी अन्तिम सिंजालीले जानकारी दिइन् । बेपत्ता बस हाल सम्म पनि भेटिएका छैनन् । सरकारको सम्पूर्ण संयन्त्र र छिमेकी देश भारतको सहयोगका बाबजुद पनि त्रिशूलीमा बेपत्ता भएका यात्रु र बस भेटिएनन् । अहिले उक्त दुर्घटनाको खोजी कार्य लगभग रोकिएको छ ।

त्रिशूली नदीमा भएको भयानक दुर्घटना भएको लामो समय नहुँदै फेरी तनहुँमा पनि बस दुर्घटना भयो । भदौ ७ गते भारतीय पर्यटक बोकेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खस्यो । बस दुर्घटनामा २७ जनाको मृत्यु भयो भने १६ जना घाइते भए । दुर्घटनामा बेपत्ता एक जना अझै भेटिएका छैनन् ।

यी,त प्रतिनिधिमूलक घटना मात्रै हुन् । चालु आर्थिक वर्षको जेष्ठ २८ गतेदेखि भदौ १५ गतेसम्म ४ हजार २ सय ७२ सवारी दुर्घटनाबाट ४ सय १२ जनाको मृत्यु भइसकेको छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार विभिन्न सवारी दुर्घटनामा सो सङ्ख्यामा मृत्यु भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी दान बहादुर कार्कीले वर्षामा पहिरो र सडकको अवस्थाका कारण सवारी दुर्घटना बढेको हुन सक्ने बताए । मकालुखबरसंग कुराकानी गर्दै उनले भने, ‘यो मनसुनमा सवारी दुर्घटना धेरै भयो । हालसम्म ४सय १२ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा गम्भीर घाइते १ हजार २ सय ५५ र ५ हजार ९ सय ४५ जना सामान्य घाइते भएका छन् ।’

विगतका वर्ष जस्तै यस वर्ष पनि मनसुनजन्य घटनाहरू र सवारी दुर्घटना रोकिएनन् । दिनानुदिन सवारी दुर्घटना भएका समाचार आइरहन्छन् । जस कारण सवारी चालक र यात्रुहरूमा डर र त्रास उत्पन्न भएको छ । हिलाम्मे सडक, लगातारको झरी लगायतका कारण बर्षायाममा बढी सडक दुर्घटना हुन्छ । दिनकै सवारी दुर्घटनाका समाचारले सवारी चालक र यात्रुलाई डर र भय उत्पन्न भएको हो ।

बर्षायाममा सवारी चालकहरू जोखिम मोलेर सवारी चलाउँछन् । तनहुँका ३६ वर्षीय मानबहादुर श्रेष्ठ १७ वर्षदेखि सवारी चलाउँदै आएका छन् । उनको मुख्य पेसा नै सवारी चलाक हो । उनी काठमाडौँ-बेशीसहरको माइक्रो चलाउँछन् । उनको यो नियमित काम हो । तर उनलाई पछिल्लो समय डर र चिन्ताले पोल्न थालेको छ ।

दिन दिनकै सवारी दुर्घटनाका समाचार र सडकको अवस्थाका कारण उनलाई डर लाग्ने गरेको बताए । बाटोमा भएका खाल्डाखुल्डीले सवारी चलाउन समस्या भएको उनको भनाई छ । ‘बाटोको अवस्था सम्झिदा त गाडी केही हुन्छ कि भन्ने डर हुन्छ । वर्षाको समयमा बाटो विस्तारको कारणले बाटो भरी खल्डामात्रै छन् । बाटो बनाउनको लागि भित्ताहरू खारेको छ,’ उनले भने,‘यसले गर्दा गाडी चलाउँदै गर्दा सुख्खा पहिरो कति बेला आउँछ भन्ने ठेगान नै हुँदैन । अरू समयमा भन्दा वर्षाको समयमा जोखिम हुन्छ ।’

गडी चलाउँदा भिरको बाटो हेरेर चलाउने गरेको उनले सुनाए । उनले सतर्कता अपनाउँदा अपनाउँदै पनि सवारी दुर्घटना हुने गरेको बताए । ‘बाटो निकै नै जोखिम छ । गाडी चलाउँदै गर्दा माथि पहरामा हेर्दै चलाउनुपर्छ,’ उनले भने, ‘कतै पहिरो झर्छ की, ढुङ्गा खस्ने हो कि भन्ने डर लाग्छ । जसले सजिलो बाटोमा पनि दुर्घटनाको जोखिम हुन्छ ।’

सडक विस्तारको नाममा स्थानीय सरकारहरूले बर्षायाममा जथाभाबी बाटो खन्दा पहिरोको जोखिम भइरहेको छ । बर्षायाममा बजेट सक्न खनिएका सडक नै सर्वसाधारणको काल बनेका छन् । सडकको अवस्था ठिक नहुँदा सवारी चालकसँगै यात्रु र पैदल यात्रीलाई पनि सास्ती हुने गरेको छ । सडकको अवस्थाले सास्ती मात्रै होइन, मानसिकरुपमा असर पनि पुगेको छ । यात्रा गर्दा पनि मनमा पहिरो र दुर्घटनाको चिन्ताले सताउने गरेको अर्का सवारी चलाक सुरज राउत बताउँछन् ।

लमजुङका राउतले काठमाडौँ–लमजुङको माइक्रो चलाउन थालेको एक वर्ष भयो । तर, उनलाई यात्रामा सहज अनुभव नभएर चिन्ता र डरको मात्रै अनुभव छ । सडकको दुरावस्थाका कारण उनको छोटो सवारी चालक अनुभव पनि नमिठो छ । उनले यात्रा गर्दा धेरै जोखिम मोल्नु परेको गुनासो गरे ।

हिउँदमा धुलो र धुवाँले गाडी चलाउन समस्या हुन्छ भने वर्षामा हिलो र पहिरोले यात्रामा समस्या निम्त्याउने उनको भनाई छ । विगत केही दिन देखिको सवारी दुर्घटनाको समाचारले मनमा डर र त्रास आउने गरेको उनले सुनाए । ‘घाम लाग्दा धुलो धुवाँले बाटो देखिँदैन, वर्षाको समयमा पहिरोले गर्दा बाटोमा सवारी चलाउनै सकिन्न,’ उनले भने, ‘विगत केही दिनदेखि दिनहुँ भएको सवारी दुर्घटनाले मनमा निकै असहज महसुस हुन्छ । कति बेला के हुन्छ भन्ने थाहा नै हुँदैन ।’

काठमाडौँको नयाँ बसपार्कमा भेटिएका राउतले गाडी चलाउँदै गर्दा पनि पहिरो खस्ने गरेको सुनाए । उनले यात्रुलाई गन्तव्यमा नपुर्‍याउँदासम्म चिन्ता लागिरहने बताए ।

स्थानीय सडक जताततै बिग्रिएकाले पनि समस्या भइरहेको राउत बताउँछन् । हिलोमा फसेको गाडी निकाल्नै समय लाग्ने भएकाले यात्रुले सास्ती भोग्नु परेको बताए । ‘सवारी चलाउँदा चलाउँदै पनि पहिरो खस्छ । हामी चालकहरूलाई मात्र होइन, यात्रुहरूलाई समेत असर गरिरहेको छ । हामीहरूको काम भनेको यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याउने हो,’ उनले मकालुखबरसंग भने, ‘जबसम्म यात्रुलाई गन्तव्य सम्म पुर्‍याइदैन तब सम्म मनमा डर लागिरहन्छ ।’

उसो त, सडक दुर्घटनाका कारण अरू पनि हुन सक्छन् । तर, बर्षायाममा जथाभाबी खनिएका सडक र राज्यको विपद्जन्य पूर्व तयारीको कमिले पनि सडक दुर्घटना बढेको अधिकारीहरू बताउँछन् । ठुला भिर पहरामा डोजर चलाउनु र सडकलाई समयमै सम्पन्न गर्न नसक्नु दुर्घटनाको प्रमुख कारण हुनसक्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *