दोषारोपणमा व्यस्त संसद्

काठमाडौं । संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ ।

नीति निर्माण गर्ने थलोका रुपमा रहेको संसद् पछिल्लो समय सांसदहरूका लागि दोषारोपणको थलो जस्तै बनेको छ । संसद्मा बैठक सुरु हुनासाथ नेताहरूले एकले अर्कालाई दोषारोपण मात्रै गर्ने गरेका छन् । कानूनहरु निर्माणका लागि जनताले संसद्मा पठाएका जनप्रतिनिधिहरू जनताका मुद्दाहरूका विषयमा छलफल गर्नुपर्नेमा आफ्नै मुद्दामा केन्द्रित देखिन्छन् ।

प्रतिनिधि सभा बैठकमा नेताहरू एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिने गरेका छन् । नेताहरू आरोप प्रत्यारोपमै रुमल्लिएपछि जनतामा निराशा छाएको छ । राजनीतिक दल र ती दलका नेताहरूप्रति उनीहरूको वितृष्णा बढ्दै गएको छ ।

उसो त, पात्र र प्रवृत्तिप्रति जनता निराश नै छन् । पुराना राजनीतिक दल र तिनका नेताहरूप्रति वितृष्णा बढेकै कारण गत निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्ममा नयाँ व्यक्ति तथा पार्टीहरूको उदय भयो ।

स्थानीय तहमा बालेन, हर्कहरूको उदय हुँदा केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको उदय भयो । तर, राष्ट्रिय राजनीतिमा उदाएका यी पार्टीहरू पनि पछिल्लो समय जनताको नजरमा खस्किँदै गएका छन् । नयाँ शैलीका साथ उदाएका यी पार्टीहरू पनि पुरानै राजनीतिक दल जस्तै बन्ने बाटोमा उन्मुख भएपछि जनताको नजरमा खस्किँदै गएका हुन् । स्थानीय तहमा स्वतन्त्र रुपमा उदाएका बालेन, हर्कहरूप्रति भने जनताले आशा राखेका छन् ।

संसद्मा आरोप प्रत्यारोप हुनु स्वभाविक : कांग्रेस प्रमुख सचेतक घिमिरे

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय प्रणालीमा आरोप प्रत्यारोप हुनु स्वभाविक भएको बताएका छन् । उनले संसद मर्यादित तवरबाट नै सञ्चालन भइरहेको बताए । ‘संसदीय प्रणालीमा आरोप प्रत्यारोप हुन्छन् । यसलाई स्वभाविक रूपमै लिनुपर्छ,संसदमा कुनै पनि विषय आउँदा सवाल जवाफ हुने कुरा गलत होइन,’ प्रमुख सचेतक घिमिरेले भने ।

संसद सार्वभौम रहेको बताउँदै सांसदहरूले प्रश्न उठाउने बित्तिकै संसद अमर्यादित भयो भन्न नमिल्ने उनको भनाई छ । ‘संसद गतिहीन,अमर्यादित भएको छैन,’ प्रमुख सचेतक घिमिरेले भने, ‘संसदमा अहिले त्यस्तो केही समस्या छैन,सांसदहरूले प्रश्न उठाउँदैमा संसद अमर्यादित भयो भन्न मिल्दैन ।’

अन्य देशहरूको तुलनामा नेपालको संसद मर्यादित रहेको जिकिर गर्दै प्रमुख सचेतक घिमिरेले भने, ‘हामी संसदीय मर्यादाभित्र नै छौँ,संसद अमर्यादित भयो भनेर अतिरञ्जित गर्न खोजिएको मात्रै हो ।’ सरकारले बिजनेस दिन नसकेको बताउँदै प्रमुख सचेतक घिमिरेले भने,‘सरकारले आफ्नो गति बढाउनुपर्छ ।’

प्रतिपक्षका कारण दोषारोपणको स्थिति सिर्जना भयो : एमाले प्रमुख सचेतक बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलहरूका कारण संसदमा दोषारोपणको स्थिति सिर्जना भएको बताएका छन् । संसद् ऐन, नियम, कानून निर्माण गर्ने थलो भएपनि प्रतिपक्षका कारण संसदमा दोषारोपणको स्थिति सिर्जना हुने गरेको उनको भनाई छ ।

संसद्को गरिमा, मर्यादालाई प्रतिपक्ष दलहरूले कायम राख्न नसकेको उनले बताए । रचनात्मक, सिर्जनात्मक ढङ्गबाट प्रतिपक्ष दलहरूले आफ्ना विषयहरू राख्नुपर्नेमा त्यसो नगरेर संसदीय मूल्यमान्यता विपरीतका गतिविधिहरू गरिरहेको प्रमुख सचेतक बर्तौलाले बताए ।

‘संसद्लाई मर्यादित ढङ्गले लैजानुपर्छ । प्रतिपक्ष दलहरूबाट रचनात्मक एवं सिर्जनात्मक सुझावको अपेक्षा गरिएको छ,’ उनले भने, ‘प्रतिपक्षका कारण संसद् बराल्लिएको छ । सार्वभौम संसदमा मर्यादित तरिकाले सवाल जवाफ हुनुपर्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारबाट हट्नुपरेको आक्रोश संसदमा पोखिरहेको समेत एमाले प्रमुख सचेतक बर्तौलाले बताए । सत्ता पक्ष वा प्रतिपक्ष दुवैले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए । देश संकटमा परेकाले दुई ठूला दल मिलेको बताउँदै उनले भने, ‘सरकारले निराशामा रहेका जनतालाई आशामा बदल्ने प्रयत्न गरिरहेको छ, यसका लागि रचनात्मक,सिर्जनात्मक तरिकाले मर्यादित भएर खबरदारी गर्ने प्रतिपक्षको खाँचो छ ।’

खबरदारी गर्दा दोषारोपण गर्‍यो भन्न मिल्दैन : माओवादी सचेतक चौधरी

नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी (चौधरी)ले सरकारले गरिरहेको कामकारबाहीमा खबरदारी गरिने बताएकी छन् । उनले तथ्यमा टेकेर जनताका मुद्दाहरू समाधानका लागि संसद्बाट आवाज उठाइने बताइन् । जनताका समस्या समाधान एवं सरकारको कामकारबाहीप्रति प्रतिपक्ष दलले खबरदारी गर्दा दोषारोपण नहुने सचेतक चौधरीको भनाई छ ।

मुलुक संसदीय प्रणालीमा रहेको बताउँदै माओवादी सचेतक चौधरीले भनिन्, ‘प्रतिपक्ष र सत्ता पक्ष दुई वटा हुन्छ । कहिलेकाहीँ मुद्दाहरूमा बहसका क्रममा सवाल जवाफ हुन्छन्,सवाल जवाफ भइरहँदा दोषारोपण जस्तो भान हुन्छ,तर यसलाई दोषारोपण भन्न मिल्दैन ।’

प्रतिपक्षको कुरा सरकारले सुन्नुपर्ने उनको भनाई छ । सत्ता पक्ष र प्रतिपक्ष दुवैले सत्यमा आधारित भएर बोल्नुपर्ने बताउँदै उनले भनिन्, ‘संसद्लाई मर्यादित बनाउन सबै लाग्नुको विकल्प छैन ।’ नेकपा माओवादी केन्द्र संसदीय मूल्यमान्यतालाई अँगाल्दै अघि बढिरहेको समेत उनले जिकिर गरिन् ।

मुख्य मुद्दाबाट संसद बराल्लिएको छ : रास्वपा प्रमुख सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पछिल्लो समय संसद्को गतिविधि ठिक ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन् । मुख्य मुद्दामा संसद्मा बहस हुनुपर्ने भएपनि पछिल्लो समय त्यसो हुन नसकेको उनको जिकिर छ ।

‘जनताका मुद्दामा संसदमा छलफल हुनुपर्छ । ऐन,कानून निर्माणका विषयमा छलफल हुनुपर्छ,तर,पछिल्लो समय त्यसो नभएर मुख्य मुद्दाबाट संसद बराल्लिएको छ,’ प्रमुख सचेतक परियारले भने ।

उनले जनताको मुद्दाका विषयमा संसदमा वादविवाद हुनु स्वाभाविक भएपनि अनावश्यक विषयमा विवाद हुनु राम्रो नभएको बताए । ‘जनताको मुद्दाका विषयमा वादविवाद हुनु स्वभाविक हो,उनले भने,‘यस बाहेकका अनावश्यक विषयमा विवाद हुनु राम्रो होइन । संसदीय मर्यादा विपरीतका कार्य गरिनु सोभनीय हुँदैन । हामीले संसद्को गरिमा र सार्वभौमिकतालाई ख्याल गर्नुपर्छ ।’

वर्तमान सरकार दुई तिहाइको भएकाले सशक्त ढङ्गबाट आवाज उठाइदा संसदमा वादविवाद जस्तो देखिएको पनि प्रमुख सचेतक परियारले बताए । जोडदार ढङ्गले भ्रष्टाचारको हदम्याद सम्बन्धीको विषयमा संसदमा कुरा उठाउँदा सरकार पछि हट्नुपरेको समेत उनले बताए ।

‘वर्तमान सरकार दुई तिहाइको बलियो सरकार छ । जोडदार रुपमा जनताका विषयमा आवाज उठाइरहेका छौँ, प्रमुख सचेतक परियारले भने, ‘त्यसैले पनि संसदमा वादविवाद जस्तो देखिएको हो । सशक्त रूपले आवाज उठाएर नै सरकार भ्रष्टाचारको पाँच वर्षे हदम्याद सम्बन्धी निर्णयबाट पछि हट्न बाध्य भयो ।’

उनले संसद्को गरिमालाई केन्द्रमा राखेर रास्वपाले जनताका मुद्दामा आवाज उठाइरहेको बताए । उनले देश र जनताको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

सत्ताका लागि दोषारोपण : राजनीतिक विश्लेषक डा. चापागाईँ

राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँले संसदमा सत्ताका लागि दोषारोपण भइरहेको बताएका छन् । सत्ता जोगाउने र सत्ता फाल्ने प्रतिस्पर्धामा दलहरूले एक अर्कालाई दोषारोपण गरिरहेको उनले बताए । जनताका लागि नभई सत्ताका लागि संसदमा एकअर्काबीच आरोप प्रत्यारोप भइरहेको उनको भनाई छ ।

जनताको आवाजका रुपमा निर्वाचित सांसद पार्टी नेतृत्वको निर्देशनमा सत्ताका लागि संसदमा बोलिरहेको उनले बताए । ‘सांसद भनेको जनताको आवाज हो, जनताका समस्या समाधानका लागि,विकास,समृद्धिका लागि जनताले निर्वाचित गराएर संसदमा पठाउँछन्,’ विश्लेषक चापागाईँले भने, ‘तर विडम्बना सांसदहरूले जनताको आवाज बोल्नुको साटो सत्ता जोगाउने र फाल्ने विषयमा बोलिरहेका हुन्छन् ।’

उनले निर्वाचनको समयमा मुद्दा भन्दा मुद्रा हाबी हुँदा समस्या निम्तिएको समेत बताए । मुद्रा हावी भएकाले जनजीबिकाका मुद्दा ओझेलमा परेका उनको भनाई छ । बौद्धिक बहस हुने ठाउँमा अनावश्यक बहस हुँदा संसद्को गरिमामा आँच आएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *