१३ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एमाले पोलिटव्युरो बैठक

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार र बुधवार गरी दुई दिन बसेको बैठकले वार्षिक कार्ययोजना र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

बैठकको समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मिसन ८४ सफल बनाउन सिङ्गो पार्टी पङ्तीमाथि ठुलो र महत्वपूर्ण अभिभारा रहेको बताए । उनले सोही बमोजिम एकताबद्धरूपमा पार्टी काममा जुट्न आग्रह गरे ।

अध्यक्ष ओलीले पार्टीलाई स्वतन्त्रतापुर्वक निर्णय गर्नसक्ने गरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको समेत बताए । बैठकले विभिन्न १३ वटा प्रस्तावहरु पारित गरिएका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकबाट पारित गरिएका प्रस्तावहरु

१. गत असार १७ गते मुलुकका मुख्य राजनीतिक शक्तिहरु नेकपा (एमाले) र नेपाली काङ्ग्रेस बिच भएको ७ बुँदे सहमतिका आधारमा असार ३१ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई दल बिच राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउँदै अवरुद्ध विकास निर्माणलाई तीव्रता दिने, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गर्ने, जनतामा आशा भरोसा जगाउने र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समझदारी बनेको छ । सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरण जस्ता उपलव्धिहरुले जनतामा आशाको सञ्चार भएको छ । मुख्य राजनीतिक दल बिचको यस्तो सहकार्य र संयुक्त सरकारको निर्माण लोकतन्त्रमा यदाकदा मात्रै हुने राजनीतिक परिघटना हो । यससँगै थुप्रै जिम्मेवारी र जोखिम समेत जोडिएका छन् । लोकतन्त्र रक्षाको कठिन विकल्पका रुपमा निर्माण भएको यस सहमतिलाई पार्टी पोलिटब्युरो बैठक हार्दिक स्वागत गर्दछ र मुलुकमा विद्यमान समस्याको समाधानका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

२. विभिन्न विचार, मत र दृष्टिकोण बिच रचनात्मक बहस हुने, राजनीतिक दलहरु बिच स्वस्थ प्रतिष्पर्धा हुने एवं असहमति र विरोधलाई मर्यादित, संयमित एवं सभ्य ढङ्गमा प्रस्तुत गर्ने र उचित विषयलाई राज्यले संवोधन गर्ने कुरा लोकतन्त्रका आधारभूत विशेषताहरु हुन् । विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी र संस्कृतिका जनसमुदायका बिचमा सहअस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान र सहयोग नेपाल राष्ट्रका चारित्रिक विशेषता तथा नेपाली समाजका अन्तरनिहित गुणहरु हुन् । पछिल्लो समय हाम्रा यी विशेषता र गुणहरुलाई कमजोर पार्ने, समाजमा अस्वस्थता, तिक्तता र नैराश्य भरिदिने एवं सामाजिक सद्भाव तथा एकतालाई कमजोर पार्ने प्रवृत्तिहरु देखा परेका छन् । अराजकता लोकतन्त्र होइन र असहिष्णुता सभ्यता होइन । पोलिटब्युरोको यो बैठक सामाजिक सद्भाव, रचनात्मक बहस र स्वस्थ प्रतिष्पर्धा जस्ता नेपाली समाजका विशेषताहरुको सम्बद्र्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने सङ्कल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ ।

३. कतिपय राजनीतिक दल एवं नेताहरुबाट अभिव्यक्त आवेगपूर्ण अभिव्यक्तिप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ । सत्ता पक्ष होस् या विपक्ष, हामी सबै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौं र यसको रक्षा, विकास र सफलता हामी सबैको दायित्व हो । मुलुकमा अनेकौं चुनौतीहरु छन् र यसलाई सामना गर्ने पनि हामी सबैको साझा दायित्व हो । भूमिका बदलिनासाथ मुलुकको अवस्थालाई हेर्ने दृष्टिकोण समेत बदल्ने द्वैध चरित्र लोकतान्त्रिक आचरणभित्र पर्दैन । यो बैठक मुलुकका सबै राजनीतिक दलहरुलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दछ ।

४. यस सरकारप्रति जनताको ठूलो आशा र भरोसा छ । यो बैठक सरकारलाई दुध उत्पादक किसानहरुको बक्यौता रकम तत्काल उपलव्ध गराउन, उखु किसानहरुका समस्या संवोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा सङ्लग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरु ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्ग लगायत बिग्रे भत्केका सडकहरुको यथाशीघ्र मरम्मत सम्भार गरी नागरिकहरुको आवागमन सहज र वस्तु तथा सेवाहरुको निर्बाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न ध्यानाकर्षण गर्दछ । केन्द्रीय विभागहरुका तर्फबाट तयार गरी गतः साउन ४ गते सम्माननीय प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका पार्टीका सुझावहरु तथा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा‘ का क्रममा नागरिकहरुबाट प्राप्त गरी तत्कालीन सरकारलाई बुझाइएका मागहरुको योजनाबद्ध, प्रभावकारी र शीघ्र कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गर्दछ ।

५. यस वर्ष मुलुकमा बाढी, पहिरो, डुबान र हिमताल विस्फोटका घटनामा परी जनधनको ठूलो क्षति भएको छ । पोलिटब्युरोको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ । विपद्जन्य घटनाहरु बढ्दै जानु, जलवायु सङ्कटले हिमाली क्षेत्रमा नसोचेका जोखिमहरु थपिँदै जानु र ठूलो लगानी गरेर निर्माण गरिएका पूर्वाधार एवं नागरिकहरुको जिउधनको क्षति बढ्दै जानु गंभीर चिन्ताको विषय हो । तसर्थ यो बैठक, जलवायु सङ्कटसँग जुझ्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन, विपत्तिको पूर्वसूचना एवं विपद् पूर्वतयारीका काममा अझ बढी ध्यान दिन एवं विपत्तिका कारण घरबारविहीन बन्न पुगेका नागरिकहरुको पुनस्र्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।

६. विगत केही समय यता हवाइ र सडक दुर्घटनाहरु बढ्दै गएकोप्रति बैठक गहिरो चिन्ता व्यक्त गर्दछ । केही समय अगाडि भएको सौर्य एयरलाइन्स तथा एयर डायनेस्टी हेलिकप्टर दुर्घटना तथा सिमलताल, ऐनाभिर लगायत विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी धेरै यात्रुहरुको ज्यान गएकोमा पार्टी गहिरो दुःख व्यक्त गर्दछ । मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यो बैठक हवाइ र सडक सुरक्षामा गंभीर ध्यान दिन, नियामक निकायहरुको भूमिकालाई प्रभावकारी बनाउन, सडकहरुको मर्मत संभारमा लगानी वृद्धि गर्न र यात्रुहरुको सुरक्षाप्रति थप संवेदनशील बन्न सम्बद्ध निकायहरुको ध्यानाकर्षण गर्दछ ।

७. केही दिन अगाडि पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ डाँडागाउँ आइतराज केरुङको घरमा द्वन्द्वकालमा वेवारिसे छाडिएको बम विस्फोटको त्रासद घटनामा परी दुई जना बालबालिका दिप्सन साँवा (वर्ष ११) र प्रिन्सा साँवा (वर्ष २) को निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ । ज्यान गुमाउनु हुने दुबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ र घाइते बालकहरु पवन राई (वर्ष १३) र दिप्सन राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने स्पष्ट पारेको छ । मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतितलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको सन्दर्भमा हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य पुष्टि गर्न खोज्ने र हिंसाका अवशेषहरुलाई कायमै राख्ने काम कतैबाट पनि नगर्न आह्वान गर्दछ ।
८. सर्वोच्च अदालतको २०८० पुस ३ गतेको परमादेशले काठमाडौं उपत्यकाभित्रका नदी, सहायक नदी र खोला लगायतका तटीय क्षेत्रमा नक्सा पास गरी वैध संरचना बनाएर बसोवास गरिरहेका र व्यवसाय सञ्चालन गरिरहेका हजारौं परिवारहरु प्रभावित हुने, कतिपय धार्मिक– सांस्कृतिक– सामाजिक संरचनाहरु समेत हटाउनु पर्ने जटिल स्थिति देखा परेको छ । मुआब्जा दिएर ती संरचना खाली गराउन पनि वर्तमान अवस्थामा संभव देखिँदैन । यो बैठक सर्वोच्च अदालतको उक्त परमादेशका दूरगामी र जटिल असरलाई ध्यानमा राख्दै यसको पुनरावलोकनका लागि आवश्यक कानुनी प्रबन्धका निम्ति सरकारको ध्यानाकर्षण गर्दछ ।

९. हालै मित्र राष्ट्र बङ्गलादेशमा विकसित घटनाप्रति पार्टीको गहिरो ध्यानाकर्षण भएको छ । पोलिटब्युरो बैठक बङ्गलादेश छिटै सामान्य लोकतान्त्रिक प्रक्रियामा फर्कने, त्यहाँका जनताले आफ्नो भविष्यको फैसला आफै गर्न सफल हुने र त्यहाँ राजनीतिक स्थायित्व, शान्ति र सामाजिक सद्भाव स्थापित हुने विश्वास गर्दछ ।

१०. प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको हिंसा र प्रतिहिंसाको शृङ्खलामा परी ४० हजार भन्दा बढी नागरिकको ज्यान गएको, हमाशको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी लगायत बन्धकहरुको अझै पनि सुरक्षित रिहाई हुन नसकेको र त्यसले भयावह मानवीय सङ्कट निम्त्याउँदै क्षेत्रीय द्वन्द्वको समेत आशङ्का बढ्दै गएकोप्रति बैठक गहिरो चिन्ता व्यक्त गर्दछ । यो बैठक तत्काल युद्धविराम गर्न, मानवीय सहायता उपलव्ध गराउन र ‘दुई राज्य समाधान‘ को विकल्प मार्फत् यस द्वन्द्वको दिगो समाधान खोज्नु पर्ने पार्टीको पूर्वस्थापित मान्यतालाई पुनः दोहो¥याउन चाहन्छ ।

११. तेस्रो वर्ष प्रवेश गरिसक्दा समेत रुस– युक्रेन युद्धको शान्तिपूर्ण समाधान नखोजिनु दुःखद विषय हो । यस युद्धमा परी हजारौंको ज्यान गएको छ, अर्बौंको भौतिक क्षति भएको छ भने युक्रेन शक्ति राष्ट्रहरुको छद्म युद्ध (प्रोक्सी वार)को शिकार बनिरहेको छ । यस युद्धमा विभिन्न कारणले सङ्लग्न हुन पुगेका ४० भन्दा बढी नेपाली युवाहरुको समेत ज्यान गइसकेको छ र केही युद्ध बन्दी बनाइएका छन् । यो बैठक रुस– युक्रेन बिच शीघ्र युद्धविराम गर्न, यसलाई छद्म युद्धको थलो नबनाउन, विभिन्न कारणवस रुसी सेनामा भर्ती हुन पुगेका नेपाली युवाहरुलाई स्वदेश फर्काउन र युक्रेनमा बन्दी बनाइएका नेपाली युवाहरुलाई रिहा गर्न माग गर्दछ ।
१२. यो बैठक जारी पेरिस प्याराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोबर्धनलाई हार्दिक वधाइ ज्ञापन तथा उहाँको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछ ।

१३. नेपाली महिलाहरुको महान चाड तीजको सुखद अवसरमा यो बैठक देश र विदेशमा रहने सबै नेपाली दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *