नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस प्रदर्शनी भदौ २१ देखि
काठमाडौँ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि को संयुक्त आयोजनामा तेस्रो ‘नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।
यही भाद्र २१, २२ र २३ गते काठमाडौँस्थित भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने भएको हो ।
यस कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काद्वारा भाद्र २१ गते बिहान ११ः०० बजे हुने छ आयोजकले जनाएको छ।
आयोजकका अनुसार तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।
आयोजकले आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युत्को विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्याउने उद्देश्यका साथ यस प्रदर्शनीको आयोजना गरिने जनाएको छ ।
विद्युतीय उपकरणहरूलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामाग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने समस्त व्यक्तिहरूले लाभ उठाउन सक्नेछन् ।
नेपालको बजारमा चाड पर्वको बेलामा विभिन्न नयाँ विद्युतीय सामानहरू खरिद गर्ने चलन रहेको तथा नेपालीहरूको महान पर्व दशैंको केही हप्ता अगाडी आयोजना हुने यस प्रदर्शनीले ग्राहकहरूलाई आकर्षित गर्ने कुरामा आयोजकले विश्वास लिएका छन् ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नवीनतम उपलब्धिहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको आयोजकको भनाई छ ।
नेपाल इलेक्ट्रिक इलेकट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेकट्रोनिक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा तीन सोचहरूको समायोजन गर्न खोजेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन सोचहरूबाट नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरायसी प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएका छन् ।