महालक्ष्मी बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य : डिस्पोजेबल कागजहरूको उचित विसर्जन गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागजहरू उचित रूपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।
पुराना कागजहरू नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विधार्थीहरुको शैक्षिक विकास गर्ने मूल उद्देश्यका साथ सहकार्य भएको बैङ्कले जनाएको छ ।
सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरू राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विधार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिने बैङ्कले जानकारी दिएको छ ।
यसबाट बैङ्कले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौँ’ भन्ने परियोजनामा थप टेवा पुग्ने दुवै संस्थाले विश्वास लिएको जनाएका छन् ।