पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ को फस्ट लुक सार्वजनिक, सुधनले डेब्यु गर्दै

काठमाडौँ । हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्न लागेका अभिनेता सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ । पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

यस चलचित्रको छायाङ्कन भने आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ । छायाङ्कनमा जानु अघि यस चलचित्रमा प्रमुख भूमिका निभाउन लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताए । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने चलचित्रका निर्माता कुमार भास्करले बताए ।

चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो चलचित्रको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ । यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’ मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए ।

चलचित्र ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए ।

चलचित्रमा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्नेछन् भने सहायक छायाकार यज्ञलाल ज्ञवाली हुन् । मानस्वी मालाकारको सङ्गीत, चिरायु पौडेलको मुख्य सहायक निर्देशन, गणेश क्षेत्रीको सम्पादन, बर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ्ग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ ।

चलचित्रका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *