ब्लु क्रस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ, त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा.लि. का तर्फबाट रजत श्रेष्ठ (Member- Secretary) र प्रभु बैंक लि. का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु विष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटल प्रा.लि मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा ५प्रतिशत देखी १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
ब्लु क्रस हस्पिटल प्रा.लि ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि ब्लु क्रस हस्पिटल प्रा.लि मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।