सत्तारुढ सांसदहरूले किन थाले हस्ताक्षर संकलन ?

काठमाडौं । सत्तारूढ दलका सांसदहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका छन् । सत्ताका मुख्य घटक कांग्रेस-एमालेका सांसदहरूले मंगलबारदेखि नै हस्ताक्षर संकलन गरिरहेका हुन् ।

उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारूढ दलहरूले हटाउने तयारी गरेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल, जसपा, नाउपा र लोसपाको समर्थनमा उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।

दुई तिहाई सांसदहरूको हस्ताक्षरसहित उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गरिने बताइएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा १८४ सांसदले समर्थन गरेमा उपसभामुखलाई हटाउने प्रस्ताव पारित हुने छ । हाल सत्तारुढ दलहरूमा कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, नाउपाका ४ र लोसपाका ४ गरि १९२ सांसद रहेका छन् ।

खासगरी प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रणनीति भने संवैधानिक परिषद्मा बहुमतमा नभएको कारण उपसभामुखलाई हटाउन खोजेका हुन् । थप रणनीति बनाउन कांग्रेसको पदाधिकारी बैठक जारी छ भने एमालेले बाहिर रहेका सांसदलाई तुरुन्त राजधानी फर्कन र असोज ३ सम्म कसैलाई पनि राजधानी नछाड्न निर्देशन दिएको छ ।

संवैधानिक परिषद्ले गर्ने निर्णयहरूमा बहुमतले निर्णय हुने अहिले प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

जसमा सदस्यहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् । महाभियोग बारे संविधानको धारा ९१ को उपधारा ६ को (ग)मा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *