स्थानीय तह नै समुन्नत नेपालको जग हो : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्थानीय तह नै समुन्नत नेपालको जग भएको बताए । उनले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गरेको भन्दै अहिले पनि विशेष परिस्थितिका कारण नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए ।
उनले भने ‘वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो । जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन । त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईँहरूले जुन कर्म गर्नुभएको छ । जसरी मेहनत गर्नुभएको छ । जसरी लाग्नुभएको छ । लागैकै र मेहनत गरेकै कारणले नेपाली काँग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ । विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन् ।’
उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको बताए ।