एन्फा लिगमा एपिएफ र आर्मीको तेस्रो जित

काठमाडौं । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लवले बिहीवार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवार आर्मीले वागमती युथ क्लवलाई र एपिएफले वालिङ नगरपालिकालाई हराएको हो । पहिलो खेलमा आर्मीले वागमतीमाथि ३–० को जित निकाल्यो । अर्को विभागीय टोली एपिएफले दोस्रो खेलमा वालिङमाथि २–१ को सफलता प्राप्त गर्‍यो । यी जितसँगै आर्मी र एपिएफले शीर्ष पाँचको दाबेदारी बलियो बनाएको छ ।

बागतमीविरुद्ध जितपछि आर्मी दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । तर केही घण्टापछि नै एपिएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भयो । एपिएफको जितमा रेनुका नगरकोटी र रश्मिकुमारी घिसिङले गोल गरिन् ।

वालिङका लागि सिसे एन्टोङगोले गोल गरे पनि पर्याप्त भएन । पहिलो हाफमा गरेको गोल नै एपिएफलाई तेस्रो जित दिलाउन पर्याप्त रह्यो । खेलको १२औं मिनेटमै रेनुका नगरकोटीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाइन् ।

पेनाल्टी बक्सबाट सरु लिम्बूले दिएको ब्याक पासमा उनले करिव २० यार्डबाट टप कर्नर गोल गरिन् । एकपछि अर्को आक्रमण बुनेको एपिएफले ३८औं मिनेटमा सफलता पायो । रश्मिकुमारीले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । यो गोलसँगै एपिएफ पहिलो हाफमा २–० ले अगाडि रह्यो र दोस्रो हाफमा वालिङले गोल फर्काए पनि हार भने टार्न सकेन ।

८० औं मिनेटमा सिसेले गोल गर्दै वालिङलाई खेलमा फर्काउने संकेत गरिन् । तर थप गोल हुन नसक्दा एपिएफले जित निकाल्यो । जितसँगै एपिएफले चार खेलबाट १० अंक जोडेको छ । समान अंक भएपनि नेपाल पुलिस क्लव गोलसंख्याका आधारमा शीर्ष स्थानमा छ । यता, आर्मीको जारी लिगमा चौथो खेलबाट तेस्रो जित हो । वागमतीविरुद्ध आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरेका थिए ।

आर्मीले एक गोल आत्मघाती उपहार स्वरूप पायो । आर्मीले खेलको २७ औं मिनेटमा विमलाको गोलमार्फत अग्रता लिएको थियो । हिमा चौधरीले राइट साइडबाट दिएको क्रस नियन्त्रणमा लिँदै पेनाल्टी बक्समा अनमार्क विमलाले सुन्दर गोल गरेकी हुन् ।

यससँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । आर्मीले ६२औं मिनेटमा अग्रता दोब्बर बनायो । दीपा शाहीले दिएको लामो पासमा अमिसाले पाँच डिफेन्डरका बीचबाट गोल गरेकी हुन् ।

अन्तिम समयमा सन्जी थिङबाट आत्मघाती गोल हुँदा आर्मीले ३–० को सहज जित दर्ता गर्‍यो । यो जितसँगै ९ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौं स्थानमा छ ।

यसअघि संकटा क्लव र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्दी एपिएफसँग हार व्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको वागमती कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लवसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *