एन्फा महिला फुटबल लिग : बागमती र चन्द्रपुर गोलबिहीन बन्दा एपिएफको गोल वर्षा

काठमाडौं । विभागीय टोली एपिएफ क्लव आइतबार कर्णाली प्रदेशमाथि फराकिलो जितसँगै जारी एन्फा महिला फुटबल लिगको शिर्ष स्थानमा उक्लिँदा बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले बराबरीको नतिजा सामना गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा कर्णालीमाथि ६–० को जित निकाल्दै साबिकको विजेता एपिएफ शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो खेलमा भने वागमती र चन्द्रपुरले गोलरहित बराबरीको नतिजा सामना गर्‍यो ।

जितसँगै एपिएफले अपराजित यात्रा जारी राख्दा कर्णालीले भने चौथो हार सामना गर्नुपर्‍यो । पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । लिगमा पुछारमा रहेको कर्णालीको समान खेलबाट एक अंक मात्र छ ।

एपिएफको जितमा रश्मिकुमारी घिसिङको दुई गोल तथा निशा थोकर, गीता राना र हेमा रावतले समान एक गोल गरे । कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल पनि गरिन् । यससँगै एपिएफबाट आधा दर्जन गोल सम्भव भयो । दुवै हाफमा समान तीन गोल भएका हुन् ।

खेलको चौथो मिनेटमै निशाको गोलबाट एपिएफले अग्रता लियो । अनिता बस्नेतको कर्नर प्रहारलाई उनले हेडरमार्फृत बललाई जाली चुमाएकी हुन् । ११ औं मिनेटमा रश्मिकुमारीले एपिएफको अग्रता दोब्बर पारिन् ।

रेनुका नगरकोटीको प्रहार माथिल्ला बारमा लागेर फर्किपछि उक्त बल नियन्त्रणमा लिँदै रश्मिकुमारीले नजिकै दूरीबाट गोल गरेकी हुन् । रश्मिकुमारीले नै २५औं मिनेटमा अर्को गोल थप्दै एपिएफलाई ३–० को सहज स्थितिमा पुर्‍याइन् ।

हीराकुमारी भुजेलको क्रस बललाई उनले हेडमार्फत गोल गरिन् । जारी लिगमा रश्मिकुमारीको यो चौथो गोल हो । एपिएफले पहिलो हाफमा ३–० को अग्रता बनायो । एपिएफले ५३औं मिनेटमा चौथो गोल गर्‍यो । गीताले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।

सरु लिम्बूलाई कर्णालीकी खेलाडीले लडाएपछि एपिएफले पेनाल्टी पाएको हो । जहाँ गीताले पेनाल्टीमा आफ्नो सतप्रतिशत नतिजा जारी राखिन् । जारी लिगमा उनले पेनाल्टीबाट नै तेस्रो गोल पूरा गरिन् ।

एपिएफले ७७ औं मिनेटमा हिमा रावतको गोलबाट ५–० को फराकिलो अग्रता लियो । कर्णालीका खेलाडीले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै हिमाले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेकी हुन् । ९० औं मिनेटमा वर्षाले आफ्नै पोस्टमा गोल गरेपछि एपिएफले अपराजित यात्रा कायम राख्यो ।

एन्फा कम्प्लेक्समै सम्पन्न अर्को खेलमा चन्द्रपुर र बागमतीले पाएका अवसर सदुपयोग गर्न सकेनन् र बराबरीमा चित्त बुझाउनु पर्‍यो । खेलको आठौं मिनेटमा चन्द्रपुरको अग्रता लिने प्रयास सफल हुन सकेन ।

सजनी थोकरको फ्रिकिक बारनजिकैबाट बाहिरिँदा चन्द्रपुर असफल भयो । बागमतीको पनि २५औं मिनेटमा बनेको आक्रमणले सफलता पाउन सकेन ।

इभा प्यारेटको फ्रिकिक चन्द्रपुरकी सलोनी चौधरीले गोललाइन नजिकैबाट क्लियर गरिन् । दोस्रो हाफमा पनि केही प्रयास सफल भएन र खेल गोलरहित बराबरीमै टुङ्गियो ।

यो नतिजासँगै पाँच खेलबाट चन्द्रपुर ७ अंकसहित छैटौं स्थानमा छ । समान खेलबाट बागमती चार अंक जोड्दै आठौं स्थानमा यथावत छ । बराबरीपछि दुवैले अंकतालिकामा सुधार गर्ने अवसर गुमाउन पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *