सुदूरपश्चिम प्रदेशले ल्यायो बजेट
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले सोमबार प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
जसको चालूतर्फ ४०.६५ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ ५९.३२ अर्थात १८ अर्ब ७६ करोड २४ लाख रहेको छ ।त्यस्तै वित्तिय व्यवस्थातर्फ ०.०३ प्रतिशत अर्थात एक करोड विनियोजन गरिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको अवरोधकाबीच बजेट ल्याइएको हो । असार १ गते प्रस्तुत बजेट राजनीतिक फेरबदलले फेल भएपछि प्रदेश सरकारले पुनः बजेट ल्याएको हो ।
चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट रु एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु नौ अर्ब ९९ करोड ९९ लाख, सङ्घीय रोयल्टी बाँडफाँटवाफत प्राप्त हुने रकम रु चार करोड चार लाख ५५ हजार रहेको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम रु छ अर्ब १५ करोड ८३ लाख ५८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने रु तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु एक अर्ब ४२ करोड र विशेष अनुदानवापत रु ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।