झलनाथले मेटमणिलाई भने- दूषित तत्त्व !

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नै पार्टीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई कारबाहीको माग गरेका छन् । चौधरीले कालापानी, लिपुलेकसहितको भूभागमा नेपालको दाबी पुग्दैन भन्दै सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाहीको माग गरेका हुन् ।

यसबारे पार्टीले मेटमणिलाई स्पष्टीकरण समेत सोधेको थियो । त्यसको जवाफमा सांसद समेत रहेका चौधरीले आफ्नो आशय त्यस्तो नरहेको बताएका थिए । तर खनालले ‘यो भारतीय नागरिक बोल्दैछ कि नेपाली नागरिक ?’ भन्दै प्रश्न गरेका छन् । ‘यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो । हाम्रो पार्टी जस्तो एउटा देशभक्त, समाजवादी र क्रान्तिकारी पार्टीका निम्ति यो त लज्जा र घृणाको विषय पनि हो । यस्तो पार्टीको कुनै नेताबाट मात्र होइन सामान्य कार्यकर्ता साधारण सदस्य तथा समर्थक र शुभेच्छुकहरूबाट पनि त्यस्ता अभिव्यक्ति आउनु असम्भव हुन्छ । आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न,’ उनले भनेका छन् ।

पार्टीको उपमहासचिव र बहालवाला सांसदबाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको उनले बताएका छन् । ‘उक्त उपमहासचिवको उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टीपंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमा प्रति गम्भीर प्रश्न उठेको छ । आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्त्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रूपमा स्थापित गर्न म पार्टी नेतृत्वपंक्ति समक्ष जोडदार माग गर्दछु,’ खनालले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *