करिब २ सय ९६ किलो गाँजा सहित महोत्तरी र मोरङबाट चार जना पक्राउ

काठमाडौँ । महोत्तरी, रामगोपालपुर नगरपालिका–५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका–६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका–१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१–०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका–१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका–११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *