एमालेका लुम्बिनी प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज देउखुरीमा भएको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेशसभा संसदीय दलको विधान, २०७५ बमोजिम प्रदेशसभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले जानकारी दिए । सस्तो लोकप्रियता आर्जनमा लाग्ने प्रवृत्तिको अन्त्य तथा आर्थिक प्रलोभनबाट सदस्यहरूलाई मुक्त गर्नु आचारसंहिताको उद्देश्य हो ।
जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा रहेको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ ।
लैङ्गिक, यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्तिजस्ता दुर्व्यवहार गर्न नपाइने, असल शासनका हरेक पक्षमा जिम्मेवार हुने, पारदर्शी र कुशल जनप्रतिनिधिको रूपमा स्थापित हुनुपर्ने, उच्छृङ्खल र अराजक गतिविधि एवं सामाजिक सञ्जालमा पार्टी नीतिविपरीत क्रियाकलाप गर्न नहुने उल्लेख छ ।