एन्फा महिला लिग : सरुको उत्कृष्ट प्रदर्शनमा एपिएफ अपराजित

काठमाडौं । एपिएफ क्लवले छैटौं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै एन्फा महिला लिगमा शिर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफले मंगलवार संकटा क्लवमाथि ३–० को जित निकाल्दै जारी लिगमा आफ्नो लय जारी राख्यो ।

यससँगै साविकको विजेतासमेत रहेको एपिएफले लिगको शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

लिगको शिर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् । शिर्ष स्थानको एपिएफले पाँचौं जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ । जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो । यद्यपि, पुलिसले एक खेल कम खेलेको छ ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्राए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन् । समान खेलबाट संकटाको यो तेस्रो हार हो । संकटा पाँच अंकससहित सातौं स्थानमा छ ।

जुन नतिजाले संकटाको दोस्रो चरणमा पुग्ने सम्भावना कठिन छ । संकटाविरुद्ध एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा सरुको गोलबाट एपिएफले अग्रता लिएको हो । रश्मिकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिइन् ।

एक मिनेट नबित्दै संकटाले खेलमा फर्कन अवसर गुमायो । ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा साबित्री किसिनले डाइभ गरे पनि फुत्किएको बलमा टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन् ।

लगत्तै निशा थोकर उक्त बल क्लियर गर्दै एपिएफको संकट टारिन् । २१औ मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि केही प्रयास भए पनि थप गोल निस्किन सकेन र पहिलो हाफमा एपिएफले १–० ले अगाडि रह्यो ।

अनिता केसीले ५१ औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाइन् । सरुले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन् । एपिएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो ।

पेनाल्टी बक्स लाइनबाट सबिताले गरेको उत्कृष्ट गोलमार्पmत एपिएफले ३–० को सहज अग्रता बनाएको हो । सरुले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन् ।

यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन् । यसपछिको समयमा थप गोल हुन सकेन र एपिएफको अपराजित यात्रा कायमै रह्यो । एपिएफकी सरु लिम्बू प्लेयर अफ दी म्याच भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *