विराटनगरको आदर्शले सुरु गर्‍यो सीपमूलक शिक्षा, अब विद्यालयमै सिलाई सिक्न पाइने

विराटनगर । विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालयले सीपमा आधारित शिक्षा सुरु गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई लक्षित गरी सीप मूलक शिक्षाको सुरुवात गरिएको हो ।

मङ्गलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयले विद्यार्थी लक्षित सिलाई कटाई सम्बन्धी कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।

साधारण शिक्षाबाट मात्रै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन नहुने भन्दै विद्यालयले सीपमा आधारित शिक्षालाई जोड दिएको उनले बताए ।

शिक्षाको राष्ट्रिय उद्देश्यमा नै विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने भन्ने उद्देश्य राखिएकोले विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले यस्तो कार्यक्रम सुरु गर्न लागेको हो ।

रोटरी क्लब अफ डाउन टाउन विराटनगर र आदर्श माध्यमिक विद्यालय विराटनगर बिच भएको दोहोरो समझदारी अनुसार विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सिलाई कटाई सम्बन्धी तालिम दिइने विद्यालयले जनाएको छ ।

विद्यालयको एक कार्यक्रमको आयोजना गरी विश्वकर्मा पूजाको अवसर पारेर क्लबका अध्यक्ष मञ्जु अग्रवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीलाई मेसिन हस्तान्तरण गरिन् ।

विद्यालयको एउटा कक्षलाई सिलाई कटाई ल्याबका रूपमा विकास गरिएको छ। सिलाई कटाई सम्बन्धी ल्याबमा एक जना प्रशिक्षकको समेत व्यवस्था गरिएको पोखरेलले बताए ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउनले प्रदान गरेका सात वटा सिलाई मेसिनबाट यो कार्यक्रमको प्रारम्भ गरिएको हो ।

विद्यालयले आफ्ना विद्यार्थीहरूको पढाइको समयलाई मध्यनजर गरी प्रत्येक दिन ९ बजेदेखि १० बजेसम्म र पुस्तक रहित शुक्रबारका दिन अधिकांश समय छनौट भएका विद्यार्थीहरूलाई तालिम दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *