रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताएका हुन् ।

उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताए । उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए । उनले पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए ।

प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए । प्रदेश सभालाई गाउँपालिकाका सदस्यहरू रहेको विधायकी थलो बनाउनुपर्ने उनको भनाई छ । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए ।

उनले भने ‘कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिट अनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठुलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ । जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहिँ कानुनी, प्रशासनिक र वित्तीयमै एकदमै ठुलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन । अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहिँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् । स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन । ५०० भन्दा मुनिमै जाऔँ । धेरै पालिकाहरू मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडी बढ्न सकिन्छ । समन्वयकारी, छरितो निकाय बिचमा रहोस् । माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्यो । विज्ञहरूको मन्त्रिमण्डल र प्रदेश सभाको रूपचाहिँ गाउँपालिकाका सदस्यहरू जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरि अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ । शासकीय स्वरूप, समावेशिता र वित्तीय संघीयता यी तिनवटै विषय असाध्यै महत्त्वपूर्ण छन् ।’

उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरूप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरू रहेका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *