राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताए ।

उनले यस बीचमा धेरै राम्रा उपलब्धिहरू भएका पनि बताए । मौलिक अधिकारहरू स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको बताए । संविधानको परिकल्पनाअनुसार समतामूलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताए ।

उनले भने ‘संविधानको कार्यान्वयन गर्दै हामीले करिब ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरू पनि भएका छन् । संसारका थोरै देशहरू होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरू स्मोथ्ली चलाएको संसारका धेरै देशहरूमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरू स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ की, संविधानले जस्तो खालको समाजको समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरू गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो । त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौँ ।’

उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताए । उनले संघ सरकारबाट बन्नुपर्ने केही कानुनहरू नबन्दा प्रदेशले पूर्ण रूपमा अधिकार प्रयोग गर्न नपाएको बताए । काठमाडौँमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *