अराजक र अशिष्ट समाज नेपालीले चाहेका छैनन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताएका छन् ।

बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताए ।

शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको उल्लेख गर्दै बैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताए ।

उनले भने– ‘हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल होइन । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज हो । यस्तो नमूना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ । जहाँ सुखसहितको समृद्धि हुनेछ । हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था हो । त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो । सुशासन अर्थात कानूनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न शर्त हो । वसुधैव कुटुम्बकम, सदियौंदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो । हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौं । सबैलाई दाजुभाई, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छाँै । सबैसँग मित्रता छैन कसैसँग शत्रुता, हाम्रो विदेश नीतिको मर्म हो । हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौँ । संसारभरिकै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौं । मैले पहिले नै भनिसकेको छु हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो । हामी सबै मिलेर सबै जात जाति,भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *