अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् ।

बिहीवार शितल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् । उनले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए ।

उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने उल्लेख गर्दै बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने उनले बताए । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताए । उनले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘आज हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय भएको छ, बेथिति र अनियमितताको अन्त्य । बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडग्मगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरु प्राप्त गर्नसक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ । किनभने यो निराश बन्ने समय होइन । यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन । यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकतावद्ध हुने समय हो । यो आफैँप्रति विश्वस्त हुने समय हो ।’

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताए । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *