लोक सेवा आयोग : एक वर्षमा १४ सय ५५ विज्ञापन प्रकाशन,२४ विज्ञापनमा दरखास्त नै परेन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति समक्ष पेश गरिएको प्रतिवेदन अनुसार एक वर्षमा निजामति सेवातर्फ १ हजार ४ सय ५५ विज्ञापन प्रकाशन भएका छन् । प्रकाशन विज्ञापनमध्ये २४ वटा विज्ञापनमा दरखास्त नै परेन ।
निजामती सेवामा सबैभन्दा धेरै कर्मचारी गुल्मी जिल्लाबाट प्रवेश गरेका छन् । गत आर्थिक वर्षमा निजामति सेवातर्फ कुल २ हजार ६ सय ८८ जना जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा महिला ७ सय ४४ र पुरुष १ हजार ९ सय ४४ रहेका छन् । सबैभन्दा बढी गुल्मी जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् ।
आयोगका प्रवक्ता गीताकुमारी होमगाईका अनुसार गुल्मीबाट १ सय ४ जना सिफारिस भएका छन् । त्यस्तै स्याङजाबाट १०२ सर्लाहीबाट ९१,धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना सिफारिस भएका छन् ।
गत आर्थिक वर्षमा रसुवा जिल्लाबाट एक जना मात्र सिफारिस हुँदा मनाङ र मस्ताङबाट कुनै पनि उम्मेवदार सिफारिस हुन सकेनन् । यस वर्ष सिफारिस हुने उम्मेदवारको औषत उमेर २९ वर्ष रहेको छ ।
एक वर्षको अवधिमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनमा ४ लाख ७३ हजार ४ सय ९० दरखास्त परेको थियो । यस अवधिमा मुलुकका सबै जिल्लाबाट दरखास्त परेको आयोगले जनाएको छ ।
सर्लाहीबाट सबैभन्दा धेरै १८ हजार ३२८ वटा दरखास्त परेको थियो । वर्षभरिमा लोकसेवाको आयोगको परीक्षामा ३८ जना उम्मेदवार कारबाहीमा परेका आयोगले जनाएको छ ।
आयोगले चार वटा सुरक्षा निकाय र २६ ओटा संगठित संस्थाका ७ सय ८५ वटा विज्ञापन प्रकाशित गरेको थियो । प्रकाशित विज्ञापनमा कुल ४ लाख ५८ हजार ६७८ दरखास्त परेका थिए ।