प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले खुसी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५÷१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताए । उनले उक्त निर्णय हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान भएको जिकिर गरे ।

उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र बिदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए । उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सीमित हुने बताए । उनले आफू प्रधानमन्त्रीमा रहँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरे ।

उनले भने ‘हामीले अहिले खुसी व्यक्त गर्ने बेला पनि हो यो । हामीले आजसम्म पनि जनयुद्धका महान् शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा आधिकारिक र औपचारिक घोषणा गर्न सकेका थिएनौँ । यो पटक मैले प्रधानमन्त्रीको रूपमा गरेको एउटा गर्व गर्न लायक काम भनेको १५/१६ वर्ष अगाडिको सिंहदरबारको एउटा कोठामा थन्किएको माइनट खोजेर त्यतिबेला भएको डिसिजनलाई आधिकारिता, औपचारिकता दिने र राजपत्रमा प्रकाशित गर्ने काम भएको छ । यो हाम्रा हजारौँ शहीदहरूको निम्ति र बेपत्ता योद्धाहरूलाई गरिएको उच्च सम्मान हो । त्यो अब मेटिने छैन । राष्ट्रिय शहीदका रूपमा उहाँहरू अब अजरअमर औपचारिक रूपमा पनि हुनुभएको छ । यही पटक हामीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा ग¥यौँ । बिदा दिने निर्णय पनि गर्याैँ । बिदा दियौँ पनि । जनयुद्ध दिवस राष्ट्रिय दिवस भनेर सरकारी क्यालेन्डरमा र अरू सबै औपचारिकता पूरा गर्याैँ  । त्यो पनि खुसी र गर्वको कुरा हो । यदि हाम्रो नेतृत्वमा सरकार हुँदैन थियो भने जनयुद्धका हजारौँ शहीदलाई राष्ट्रिय शहीदको सम्मान या जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र विद्याको कुरा कल्पना पनि सम्भव थिएन । १८ महिनादेखिको लगातार प्रयासले अन्तिममा तपाईँहरूले देख्नुभयो, बालुवाटारमा मेरो अन्तिम बैठक नै त्यही थियो । सर्वदलीय बैठक बोलाएर यो टिआसरीसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिने कार्यदल मैले नै प्रस्तावित गरेर टुङ्ग्याइएको छ । त्यो अहिले अनुमोदन गर्ने काम भइसकेको छ ।

अध्यक्ष दाहालले माओवादी नेताहरूको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताए । उनले सबैले माओवादीलाई एकीकृत र केन्द्रीकृत गरेसँगै शक्तिशाली भइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *