सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु,सत्तापक्षकै असन्तुष्टि

कैलाली । गत भदौ ३१ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ ।

आजको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले तत्कालीन सरकार अल्पमतमा परेपछि उत्पन्न विशिष्ट परिस्थितिले प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको र सो अवस्था हटाउन सरकारले अर्को बजेट ल्याउनु परेको बताए ।

बजेटमाथिको छलफलमा भाग लिने सत्ता र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले न्यायोचित ढङ्गले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

छलफलमा सत्तापक्षका विक्रमसिंह धामी, चक्रबहादुर मल्ल, जानकी ऐर बम, खुशिराम डगौरा थारू, प्रतिपक्षका अक्कलबहादुर रावल, गीतादेवी माल, खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा.ताराप्रसाद जोशीले भाग लिएका थिए ।

राप्रपाकी खेमादेवी विष्टले सरकार र जनप्रतिनिधिलाई कुनै ठाउँमा ‘चोर रहेछन् भन्ने गरिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मराज पाठकले नियमापत्ति जनाएका थिए ।

पाठकले ‘चोर’ शब्द असंसदीय रहेकाले यसलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेपछि सभामुख भीमबहादुर भण्डारीले बोलिएको शब्दका बारेमा छानबिन गरेर आवश्यक परेमा हटाउने जानकारी गराएका थिए ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले बजेटमाथि सभामा छलफल गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।सरकारले गत भदौ ३१ गते आव २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो ।

तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गएको असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा सामान्य हेरफेर एवं परिमार्जन गरेर हालको सरकारले अर्को बजेट ल्याएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *