पुलिसले जित्यो काभा महिला क्लब भलिबलको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो ।

पुलिसले २५-१६, २५-२१, २५-२३ ले नतिजा आफ्नो पक्षमा पार्यो । लिग चरणबाट पुलिस शीर्ष र हुमो दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका थिए । प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए ।

पुलिसले लिग चरणामा हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को, माल्दिभ्सको वाम्को क्लबलाई ३-२ तथा माल्लिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

गत चैतमा सम्पन्न आठौं एनभिए महिला भलिबल लिग विजेताको हैसियतामा पुलिसले यस काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाएको हो ।

पुलिसले प्रतियोगिताका लागि विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड यु स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *