कांग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो : विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा संविधान संशोधनको बुँदा समावेश गरेकै कारण संविधान संशोधनको औचित्य रहेको भन्ने बुझाइ गलत भएको बताएका छन् ।

आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई पार्टीमा समझदारी भएकै आधारमा संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा गलत भएको बताए ।

संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत रहेको बताए । उनले समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुने जिकिर गरे । उनले संघीय प्रणाली बनाए पनि संघीयताअनुसार अधिकार प्रदान गर्न नसकेको बताए ।

उनले प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन, कर्मचारी हुनुपर्ने बताए ।

उनले भने ‘नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा मात्रै संविधान संशोधनको बुँदा समावेश भएको कारणले संविधान संशोधन हुनुपर्छ वा संविधान संशोधनको औचित्य छ भन्नेकुरा होइन । दुई पार्टीमा समझदारी भयो, संविधान संशोधन गर्ने समझदारी भयो, त्यसकारणले संविधान संशोधन गर्नुपर्छ भन्नेकुरा होइन । संविधानकै धारामा पुनरावलोकन र संशोधन गर्नुपर्छ भनेर लेखिएको छ । दुई पार्टीमा लिखित बुँदा सहमति नभइदिएको भएपनि अहिलेको संविधानमा संविधान संशोधनको जरुरत थियो, छ र रहीरहन्छ । समय समयमा सहमति भएअनुसार संविधान संशोधन हुन्छ । हामीले त्यसरुपमा यसलाई छलफल गरी निस्कर्षमा पुर्याउनुपर्छ । हामीले संघीय प्रणाली ल्यायौँ, सात प्रदेश बनायौँ तर त्यो प्रदेशसँग दुई वटा कुरा छँदै छैन । जुन सरकारसँग, निकायसँग ल इन्फोर्समेण्ट एप्रेटर्स हुँदैन, त्यसलाई सरकार भनिँदैन । जुन निकायसँग उसको आफ्नो सिभिल सर्भिस हुँदैन त्यसलाई सरकार भन्न मिल्दैन, यसमा हाम्रो कमजोरी छ, संविधानमा यसको उल्लेख गरिएको छ । प्रत्येक प्रदेशसँग आफ्नो प्रहरी संगठन हुनुपर्छ भनेर लेखेको छ, तर दिएका छैनौँ ।’

सांसद निधीले सात प्रदेशसँगै १० वर्षसम्म पनि आफ्नो कर्मचारी नरहेको बताए । आत्मालोचनाको बानी काँग्रेसमा नरहेको तर कम्युनिष्टहरुमा धेरै हुने गरेको सुनेको भन्दै सबै राजनीतिक दलहरूले आत्मालोचना गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *