जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव

काठमाडौं । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताइन् ।

उनले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गरिन् ।

जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो ।

उनले भनिन्– ‘यस्तो समूदायहरु छन जो राज्यको मुल प्रवाहीकरणमा आउन सकिरहेका छैनन् । उनीहरुको तथ्यांक ल्याउनुप¥यो । उनीहरुको जनगणना छुटाउनु हुन्न । यौनिक अल्पसंख्यक जन समुदाय अझै पनि लुकेर बसेको अवस्था छ । उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाईराखेको अवस्था छैन । उनीहरुलाई न कुनै जातीय सूचिमा गाभिएको छ । न तथ्यांक कार्यालयले उहाँहरुलाई समेटेको अवस्था छ । मुस्लिम समुदायको यकीन तथ्यांक आएको छैन । यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ ।’

एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरुको तथ्यांक ल्याउन सरकारलाई दबाब दिए । उनले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताए ।

सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने– ‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरुमा ? मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ । अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ । पहाड छोड्यो, शहर आयो । सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ । यस्तो खालको अवस्थामा अलि बढि ध्यान दिनुप¥यो ।’

सांसद रिजालले विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *