३५ रुपैयाँ पर्ने मिनिरल वाटरलाई सय रुपैयाँमा बेच्दा ‘जिम्बु थकाली’लाई ३ लाख जरिवाना

काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो ।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए । उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए ।

उनले भने ‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौँ । हामी रेष्टुरेण्टमा आयौँ । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खाऔँ । एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ । ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई ३५ रुपैयाँ लिनुभएको रहेछ । कुनैपनि उपभोक्तालाई लेभल गरिएको हुन्छ । त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन । खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ । वाणिज्य विभागको प्रमुख ठगीमा परे । यो एउटा उदाहरण मात्रै हो । उहाँहरूले विल लिनुपर्छ । विल लिएर विभागमा उजुरी गरे कानुन अनुसार कारबाही गर्छौँ । चाडपर्व लक्षित बजारमा ७ वटा टोली खटाएका छौँ । भोलिदेखि अझ बढी टोली परिचालन गर्छौँ । उहाँलाई अहिले ३ लाख रुपैयाँ जरिवाना गर्नुभएको छ । उहाँहरूले अब मूल्य भन्दा बढी मूल्यमा कुनैपनि सामान बेच्न पाउनुहुन्न । फेरि पनि त्यो गरेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्छौँ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्य भन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरेका हौँ ।

उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । उनले आवश्यकताका आधारमा उपभोक्ताहरू ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताए । काठमाडौँ उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *