कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्नेे निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरे ।

अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो ? भनि सहभागीहरुलाई प्रश्न समेत गरे । कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए ।

अध्यक्ष दाहालले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको उल्लेख गर्दै मुलुकको परिस्थिति जटिल अवस्थामा रहेकाले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताए ।

उनले भने,‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यसकारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । सेना समायोजनाको बारेमा, हिजोको हतियार व्यवस्थापनको बारेमा र अहिले बाँकि रहेको सत्य निरुपण तथा बेपत्ता आयोगसँग सम्बन्धित कामहरुको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो अब्जेक्शन कहाँ छ भने अहिले दुइ ठूला राजनीतिक दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नु भएको छैन । मैले अलि गम्भिर ढंगले भन्न चाहेको छु यो कुरा । उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन २/४ दिन अगाडिसम्म । उहाँहरुले कहिल्यै यो संविधानको समिक्षा गर्नुपर्‍यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन । तपाईहरु कसैले सुन्नुभएको छ ? नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली काँगेसले पनि संविधान संशोधन गर्नुपर्‍यो भनेर छलफल गरेको थिएन । होइन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनैपनि तरिकाले हटाउनैपर्ने भयो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभएको हो । र, त्यतिबेला उहाँहरुले कथा बनाउनु भयो संविधान संशोधन । संविधान संशोधन एजेण्डा होइन, उहाँहरुको अर्कै एजेण्डा हो । मैले के भन्छु भने–यदि उहाँहरुको संविधान संशोधन गर्नु थियो । र यो संविधान शान्ति सम्झौताको पनि अंगको रुपमा रहेको छ । त्यसकारण शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल र त्यसको नेतासँग संविधान संशोधनबारे छलफल, बहस गर्न हुँदैन्थ्यो र । सहमती गरौ, यो विषय मुलुकमा राजनीतिक स्थायित्वका लागि चाहियो भनेर २/४ दिन अगाडि जतिबेलासम्म म प्रधानमन्त्रीनै थिए । प्रधानमन्त्रीसँग छलफल गर्न हुदैनथ्यो त । छलफल गर्दा बिग्रिन्थ्यो त ? उहाँहरुले लुकाएर गर्नुभयो । लुकाउनु भयो । र बडो अप्राकृतिक तरिकाले आफनै पार्टीलाई पनि थाहा नदिइ गर्नुभयो । जे गर्नुभयो, त्यो पनि कयौं दिनसम्म नेपाली जनतालाई पनि लुकाई राख्नुभयो ।’

अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *