मुगु ६५ औँ साक्षर जिल्ला घोषणा

मुगु । विकट हिमाली जिल्ला मुगुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै मुगु साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका चार स्थानीय तहहरुले साक्षर पालिका घोषणा गरेसँगै मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिले आयोजना गरेको साक्षर जिल्ला घोषणा कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

जिल्ला समन्वय समिति प्रमुख मन्जनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साक्षर जिल्ला घोषणा कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीसहित सरोकारवालाले सामुहिक रुपमा घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

“हिजोका दिनमा गाउँघरमा परदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्न गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । अब त्यो अवस्था छैन, आज सबै पढ्न सक्ने भएका छन्”, नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष विष्णुमाया भामले भनिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानीय तहहरुले साक्षरताको १२ सूचकमध्ये छ सूचक मात्र पूरा गरेको र बाँकी छ वटा सूचक पनि पूरा गर्न सुझाव दिए । नागरिक अगुवा रुपबहादुर मल्लले साक्षर जिल्ला घोषणामा मात्र सीमित नरहनुपर्ने बताए ।

दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमूलककार्यमा ध्यान दिने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गरे । मुगु साक्षर घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १२ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयले साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *