रविन्द्रको उपप्रधानमन्त्री सिंहलाई प्रश्न – एक्लै-एक्लै फाइट गर्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अबको निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहलाई हराइ छाड्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो कुरा बताएका हुन् ।

उनले लेखेका छन्,“अब तेस्रो पटक,अनाथ बालबालिकाको बाल मन्दिर नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न मुद्दा नै ढिसमिस गर्न खोज्ने तपाईंलाई नहराई त कहाँ छोडुँला र !” ।

सिंहलाई चुनाव हराएको दिन देशको वास्तविक रूपान्तरणको शंखनाद हुने समेत उनले बताए । मिश्रले यसलाई शाब्दिक नभई प्रतिकात्मक रूपमा बुझ्न समेत आग्रह गरेका छन् ।

उनले एक्लै-एक्लै निर्वाचनमा फाइट गर्ने भन्दै प्रश्न समेत गरेका छन् । एक्लै चुनाव लडेको भए दुई पटक आरामले सिंहलाई हराउने दावी समेत मिश्रले गरे ।

उनले लेखेका छन्,“एक्लै-एक्लै लडेको भए मैले तपाईं (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।”

सिंहले चुनाव जितेर उपप्रधानमन्त्री सम्म भए पनि केही गर्न नसकेको मिश्रले बताए । “चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ  ? तपाईंको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा’छ ? चुनाव जित्दैमा, मन्त्री र प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ। मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईं जस्ता मन्त्री र प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ,”उनले लेखेका छन् ।

हाल सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा गएपछि सिंहले कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका छन् ।

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट निर्वाचित भएका थिए । सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

सिंहले ७ हजार १४३ मत ल्याएका थिए भने मिश्रले ७ हजार १८ मत ल्याएका थिए । यसअघि २०७४ सालको निर्वाचनमा पनि सिंहले मिश्रलाई नै ८ सय मतान्तरले पराजित गरेर चुनाव जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *