सुदूरपश्चिममा माओवादीले तोक्यो इन्चार्ज,कुन जिल्लामा को ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए । उनका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी,डडेल्धुरा कुन्ती जोशी,डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ ।
जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताए ।