सहकारी प्रकरण

पक्राउ पर्ने डरले आतङ्कित छन् रवि, समर्थक बने अराजक

काठमाडौं । असोज ४ गते सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक भयो । सहकारी छानबिन समितिले रास्वपाका सभापति रवि लामिछानेसहित ४ जनालाई कारबाहीका लागि सिफारिस गर्‍यो । उक्त सिफारिस अनुसार गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परिसकेका छन् ।

तर, रास्वपाका सभापति तथा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भने आफूलाई छानबिन समितिले ‘क्लिन चिट’ दिएको दाबी गर्दै आइरहेका छन् । रविको उक्त दाबी र समितिको प्रतिवेदनमा तालमेल नै मिल्दैन । समितिले छानबिन गरेर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ, तर रवि भने आफूले ‘क्लिन चिट’ पाएको बताउँछन् । रविको अस्वाभाविक दाबीपछि सहकारी ठगीको अनुसन्धान नै अलमलमा परेको छ ।

गोरखा मिडिया नेटवर्कका व्यापारिक साझेदार जोशी पक्राउ परेपछि लामिछाने त्रसित छन् । प्रहरीले आइतबार छविलाई पक्राउ गरेपछि रवि पनि जुनसुकै बेला पक्राउ पर्न सक्ने भयमा छन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शनसहित चार सहकारीको ६५ अर्ब रुपैयाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो । यसमा सहकारीका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक द्वय कुमार रम्तेल र जोशीलाई कारबाही गर्न भनेको थियो ।

सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएसँगै प्रहरी एक्सनमा उत्रिएपछि रविलाई पनि जुनसुकै बेला पक्राउ पर्ने संकेत देखा परेको छ । जसको सुइँको पाएसँगै रविले आफ्ना कार्यकर्तालाई सतर्क रहन भनेका छन् ।

आइतबार साँझ कार्यकर्तालाई पार्टी कार्यालय बोलाएर लामिछानेले भने, ‘म भागेको छैन । लुकेको छैन । जुन ट्रायल गर्न खोजेको छ त्यो मैले बुझेको छैन । पक्राउ गर्नेबारे सरकारले त्यस्तो तयारी गरेको छैन भने पनि भरोसा गर्न सक्ने अवस्था छैन । मलाई सरकारको अनुकम्पा चाहिँदैन, तर कुनै अन्याय गर्न पाइँदैन । कसैको राजनीति बचाइदिनका लागि मैले बलिबेदीमा चढ्नुपर्ने ।’

उसो त, सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नरहेको र त्यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको दाबी गर्दै आइरहेका लामिछाने सहकारी छानबिनमा दोषी मात्रै देखिएनन्, कारबाहीका लागि समितिले प्रमाण र आधारसहित सिफारिस गरे पनि उनी डराएको प्रस्टै देखिन्छ ।

सहकारी ठगीको आरोपमा पक्राउ पर्ने भयले लामिछाने र उनका समर्थकले भने ‘क्लिन चिट’ पाएको भन्दै सामाजिक सञ्जालमा सरकारको विरोध गरिरहेका छन् । सभापति लामिछाने संयम नै कहिले लाइभमा बोलेर त कहिले फेसबुकमा स्टाटस लेखेर सरकारमाथि दबाब बढाइरहेका छन् । रविको यो हर्कतले उनका समर्थक र कार्यकर्तालाई अराजक बन्न र सामाजिक सञ्जालमा तथानाम बोल्न प्रस्य दिइरहेको छ ।

रविका कार्यकर्ताको अराजक शैली एकातिर छदैछ, अर्कोतर्फ उनी आफै त्यसमा बल पुग्ने काम गरिरहेका छन् । बुधवार फेसबुकमा स्टाटस लेख्दै रविले समाचार लेखेको भन्दै मिडियामाथि प्रहार गरे ।

कान्तिपुर दैनिकले प्रहरीमा छविको बयानको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको सभापति लामिछानेले खण्डन गर्दै आफू विरुद्ध षड्यन्त्रपूर्वक समाचार छापिएको बताए ।

उनले कान्तिपुरले आफ्नो सबै शक्ति र स्रोतहरू आफ्नो विरुद्ध प्रयोग गरेको दाबी गर्दै घिनलाग्दो मिडिया ट्रायल गरेको बताए । कान्तिपुरसँग प्रत्यक्ष रूपमा बहस गर्न तयार रहेको जनाउँदै लामिछानेले सार्वजनिक स्थानमा खुला बहसको व्यवस्था गर्न चुनौती नै दिए ।

‘अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो ? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन् । समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ । म कान्तिपुरसँग कुरा गर्न आउँछु । आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु । सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा लाइभ गर्ने व्यवस्था गर्नु । परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस् । यो अत्याचार विरुद्ध म लड्छु ।’

अनुसन्धान र छानबिनका क्रममा रहेको सहकारीको विषयमा बारम्बार प्रतिक्रिया दिनुले लामिछाने पक्राउ पर्ने डरमा रहेको बुझ्न गार्‍हो छैन ।

यता, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल संसदीय छानबिन समितिले कारबाही गर्न सिफारिस गर्दा लामिछानेले भ्रमपूर्ण प्रचार गरेको दाबी गर्छन् । पोखरेलले अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ पाएपछि मात्रै ‘क्लिन चिट’ पाइने बताए ।

उनले हल्ला गरेको भरमा क्लीन चिट नपाइने बताउँदै भने– ‘क्लीन चिट पाए भनेर घोषणा गर्ने कुरा होइन । क्लीन चिट अनुसन्धानको प्रक्रियामा प्रवेश गरेपछि सफाइ पाएपछि मात्रै पाइन्छ । हल्ला गरेको भरमा क्लीन चिट पाइने होइन । संसदीय छानबिन समितिले कानुनसम्मत कारबाही गर भनेको छ । कारबाही गर भनेको विषयलाई क्लीन चिट प्राप्त गरे भनेर भ्रमपूर्ण प्रचार गरेका छन् । त्यो अनुचित हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *